काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेन्द्रबहादुर शाहीले यसअघिका सरकारहरुले गरेको गलत कामको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन्।
सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद शाहीले सरकारका मन्त्रीहरुले आफ्नो कमजोरी ढाकछोप गर्न यसअघिका सरकारहरुले पनि गलत गरेको आरोप लगाइरहेको भन्दै गलत कामको छानविन गर्न सरकारलाई चुनौती दिएका हुन्।
उनले सरकारको नेतृत्वमा बसेका मान्छेहरुले धम्कीको भाषा प्रयोग गर्न नसुहाउने बताए। अगाडिका सरकारहरूले नियम कानुन संविधानविपरीत काम गरेको भए छानबिनगरी कानूनी कारबाहीको दायरामा ल्याउने दायित्व र जिम्मेवारी सरकारको भएको उनको भनाइ छ।
उनले सरकारमा बसेकाहरुले गल्ती गर्न नहुने भन्दै गल्ती भएका विषयमा सरकारले जनतालाई जवाफ दिन सक्नुपर्ने बताए।
सांसद शाहीले दुई तिहाइको नजिक पुगेको सरकारले जनताको अपेक्षाअनुसार देशको विकासमा ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिए।
स्वदेशमा नै उत्पादनका स्रोतहरू पहिचान गर्ने, लगानी केन्द्रित गर्ने, रोजगारी सिर्जना गर्ने, विगतमा भएका भ्रष्टाचारका प्रकरणको छानबिनलगायतका विषयमा प्रतिपक्षी दल भए पनि सरकारको साथमा रहने उनले बताए।




