राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछाने शुक्रबार चितवन उद्योग संघको प्रदर्शनी हलस्थित बन्दसत्र स्थलमा पद तथा गाेपनीयताकाे शपथ लिँदै। तस्बिर : रासस
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सकिएको छ। आइतबार (असार ७ गते) चितवनको भरतपुरमा सुरु भएको महाधिवेशन शुक्रबार (असार १२ गते) सकिएको हो।
असार ७ देखि ९ गतेसम्मका लागि तय गरिएको महाधिवेशन व्यवस्थापकीय कमजोरी, आन्तरिक विवादलगायतका कारणले लम्बिएको थियो। महाधिवेशन अवधि लम्बिएपछि आधाभन्दा बढी प्रतिनिधि महाधिवेशन सम्पन्न हुनुअगावै आआफ्नो जिल्ला फर्किए।
महाधिवेशनलाई व्यवस्थित बनाउन नेतृत्व तहबाट त्रुटि देखियो नै, निर्वाचन सम्पन्न गराउने जिम्मेवारी बोकेको निर्वाचन आयोगको कार्यसम्पादनमा कैयौँ समस्या देखिए।
प्रतिनिधिहरूका लागि खानाको व्यवस्था महाधिवेशन आयोजक समितिले गरे पनि बासको व्यवस्था आफैँ गर्न लगाइएको थियो। तोकिएभन्दा महाधिवेशन लम्बिँदै गएपछि जिल्लाजिल्लाबाट आएका प्रतिनिधिहरू समस्यामा परेका थिए। महाधिवेशन प्रक्रिया लम्बिँदै गएपछि खर्च धान्न नसक्ने अवस्थामा पुगेको गुनासो उनीहरूले सार्वजनिक रूपमै गरेका थिए।
रास्वपाको नेतृत्वले महाधिवेशन सम्पन्न गर्ने प्रक्रियामा कैयौँ व्यवस्थाकीय त्रुटि भएको स्वीकार गरेको छ। निवर्तमान प्रवक्ता मनीष झाले त महाधिवेशन लम्बिएपछि आफूहरू लज्जित बन्न पुगेको बताएका थिए।
व्यवस्थापकीयमात्रै होइन रास्वपाको महाधिवेशनमा निर्वाचन प्रक्रियामा पनि समस्या देखियो। प्रतिनिधि टुंगो लगाउनेदेखि मतदान सम्पन्न गर्दासम्म रास्वपा महाधिवेशन अव्यवस्थित थियो।
उद्घाटनसत्र सफलतापूर्वक सम्पन्न गरेको रास्वपाले दोस्रो दिनका लागि तय भएको बन्दसत्र सुरु गर्न सकेन। बन्दसत्रका लागि तय गरिएको असार ८ गतेसम्म रास्वपाले महाधिवेशन प्रतिनिधिको टुंगो लगाउन सकेको थिएन। असार ८ को मध्यरातमा मात्रै महाधिवेशन प्रतिनिधिको अन्तिम टुंगो लागेको थियो।
महाधिवेशन सम्पन्न गर्न आयोजकले अपनाएको प्रक्रियाबाट ठूलो संख्यामा प्रतनिधिहरू असन्तुष्ट बने। कतिपयले त पार्टीको महाधिवेशन सम्हाल्न नसक्ने नेतृत्वले देश बनाउनेमा शंका व्यक्त गरे।
महाधिवेशन अवधिभर बस्ने गरी चितवन पुगेका पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह महाधिवेशन सम्पन्न नहुँदै राजधानी फर्किए। महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्ने क्रममा सभापति रवि लामिछाने, वरिष्ठ नेता शाहलगायतले रास्वपालाई गुटउपगुटमुक्त बनाउने उद्घोष गरे पनि व्यवहारमा त्यस्तो देखिएन।
महाधिवेशन सकिँदासम्म रास्वपा पनि गुटउगुटको समस्याबाट मुक्त रहन सकेन। महामन्त्रीका लागि प्रतिस्पर्धा गरेका गणेश कार्कीले नेतृत्व तहबाटै गुटउपगुट बनाउने काम भएको आरोप लगाएका छन्। महामन्त्री पदमा उम्मेदवारी दिएकाहरू उम्मेदवारी फिर्ता लिएर अर्कोलाई समर्थन गरेर प्यानलको झल्को दिएको उनले जिकिर गरेका छन्।
‘यही अधिवेशनमा सभापतिले उद्घाटन गर्दै भन्नुभएको थियो- अर्काका लागि भोट माग्ने रास्वपाको पक्का सदस्य हैन,’ कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सभापतिको भनाइ सेलाउन नपाई उम्मेदवारी फिर्ता लिएर अर्कोलाई समर्थन गरिएको छ, त्यसले सभापतिको भनाइलाई खिल्ली उडाउँछ। यसले हामीले खराब भनेको गठबन्धनको, प्यानलको झल्को दिन्छ। यो गलत भयो, यसो नगरौँ।’
कार्कीले नेतृत्वले जालझेल गर्ने गुट बनाउने काम गर्न नहुने बताएका छन्। उनले भनेका छन्, ‘हाम्रा कारणले पसिना बगाउँदै, नभएका पैसा सक्दै बसेका प्रतिनिधिहरूको लोकतान्त्रिक चुनावमा भाग लिने अधिकार खोस्न हुन्न।’

महामन्त्री पदका लागि निर्वाचन हुनुअघि मनोनयन दर्ता गरेकाहरूले उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गर्ने घोषणा गरेपछि कार्कीले यस्तो प्रतिक्रिया जनाएका थिए। सभापति लामिछानेले महामन्त्री पदलाई सर्वसम्मत बनाउन सक्दो प्रयास गरेका थिए। बिहीबार रातिसम्म सबै आकांक्षीहरू राखेर सहमति जुटाउने प्रयास गरे पनि सफल भएन।
अन्तिम समयमा रञ्जु दर्शना, कविन्द्र बुर्लाकोटी, शिशिर खनाललगायतले उम्मेदवारी फिर्ता लिएर विपिन आचार्यलाई समर्थन गर्ने घोषणा गरेपछि नेतृत्वले गुटबन्दी गर्न लगाएको आरोप लागेको छ।
आकांक्षी अधिकांश उम्मेदवारको समर्थन पाएर महामन्त्रीमा निर्वाचित भएका आचार्य सभापति लामिछानेको विश्वासपात्र ठानिन्छन्। लामिछानेकै ‘इसारा’ मा अन्यले आफ्नो उम्मेदवारी फिर्ता लिएर आचार्यलाई समर्थन गरेको आरोप लागेको छ।
रास्वपाका नवनिर्वाचित पदाधिकारीमा अधिकांश पुराना ‘चर्चित’ अनुहार आएको देखिएको छ। समावेशिता, समानतालगायतका सिद्धान्तलाई अनुशरण गर्दै आएको रास्वपाको पदाधिकारीमा मुस्लिम समुदायका असिम शाह (सहमहामन्त्री) बाहेक खुलातर्फ मधेशी, आदिवासी, जनजाति, थारू कोही आउन सकेका छैनन्।
रास्वपा विधानले सभापतिलाई ११ जना पदाधिकारी मनोनयन गर्न अधिकार दिएको छ। सभापति लामिछानेले आफ्नो अधिकार प्रयोग गर्दै पदाधिकारीलाई समावेशी बनाउने विश्वास रास्वपाका प्रतिनिधिहरूले गरेका छन्।
रास्वपाका नयाँ पदाधिकारी
रास्वपाको विधानमा १९ जना पदाधिकारी रहने व्यवस्था छ। जसअनुसार पार्टी सभापतिमा लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। महाधिवेशनमा एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भए।
सभापतिलाई वरिष्ठ नेता मनोनीत गर्ने अधिकार विधानले दिएको छ। वरिष्ठ नेतामा प्रधानमन्त्री वालेन्द्र शाह मनोनीत हुने पक्का जस्तै छ। यसअघि पनि उनी पार्टीका वरिष्ठ नेतामा मनोनीत भएका थिए।
त्यस्तै उपसभापति खुलातर्फ डा.स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। उनको पनि एकल उम्मेदवारी परेको थियो। उपसभापति महिलातर्फ कानुनमन्त्रीसमेत रहेकी सोविता गौतम निर्वाचित भएकी छन्। उनले डा.तोसिमा कार्कीलाई पराजित गरिन्।
एक जना उपसभापति मनोनीत हुने व्यवस्था छ। बाँकी रहेका उपसभापतिलाई सभापति लामिछानेले मनोनीत गर्नेछन्।
त्यस्तै पार्टी संगठनका लागि महत्त्वपूर्ण ठानिएको महामन्त्री पदमा विपिन आचार्य निर्वाचित भएका छन्। अर्का एक जना महामन्त्री पार्टी सभापतिबाट मनोनीत हुनेछन्।
सहमहामन्त्री खुलातर्फ अशिम शाह र हरि ढकाल निर्वाचित हुँदा महिलातर्फ निशा डांगी निर्वाचित भएकी छन्। अब बाँकी दुई जना सहमहामन्त्रीलाई सभापतिले मनोनीत गर्नेछन्।
त्यस्तै एक जना प्रवक्ता र तीन जना सहप्रवक्ता पनि सभापतिले मनोनीत गर्ने रास्वपा विधानमा व्यवस्था छ। यसबाहेक एक जना कोषाध्यक्ष र दुई जना सहकोषाध्यक्ष पनि सभापतिबाटै मनोनीत हुनेछन्।




