काठमाडौँ- सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विद्यार्थीहरुले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्।
सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हितबिपरित रहेकाले फिर्ता लिनुपर्ने भन्दै काठमाडौँको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले शुक्रबार विरोध प्रदर्शन गरेका हुन्।
उनीहरुले ‘राष्ट्रिय अखण्डताको पक्षमा एकजुट बनौँ, देशको सीमा र स्वाभीमान हाम्रो प्राण, हाम्रो भूमि हाम्रो शान’ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नारावाजी गरेका थिए।
त्रिचन्द्रका विद्यार्थी मनोज भण्डारीले नेपालका प्रधानमन्त्रीले संसदमा देशको गरिमा विपरित सीमा सम्बन्धी अभिव्यक्ति दिएकाले विरोध जनाएको बताए। उनले प्रधानमन्त्रीले संसदबाट माफी नमागेसम्म आफूहरुको आन्दोलन नरोकिने स्पष्ट पारे।
प्रधानमन्त्री शाहले केही दिनअघि प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै भारतले मात्रै नभएर नेपालले पनि भारतीय भूमि कब्जा गरेको बताएका थिए। उनको यो अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ।




