राहत शिक्षकको न्यायपूर्ण व्यवस्थापन हुनुपर्छ, कसैको जागिर नखोसियोस् : नविनसिंह धामी

हिमाल प्रेस १५ असार २०८३ १०:४७ | Monday, June 29, 2026
190
SHARES
राहत शिक्षकको न्यायपूर्ण व्यवस्थापन हुनुपर्छ, कसैको जागिर नखोसियोस् : नविनसिंह धामी नेपाल राहत शिक्षक केन्द्रीय समिति अध्यक्ष नवीनसिंह धामी।

काठमाडौँ- नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष नविनसिंह धामीले राहत शिक्षकहरूको व्यवस्थापनका क्रममा कसैको पनि जागिर नखोसिने र कोही पनि रित्तो हात घर फर्किनु नपर्ने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत धामीले केही व्यक्तिले आफूविरुद्ध मनगढन्ते आरोप र गालीगलौज गरेको उल्लेख गर्दै त्यसलाई उनीहरूको सोच र संस्कारको परिचायक भएको टिप्पणी गरेका छन्। उनले अरूको व्यवहारका कारण आफ्नो मर्यादा र संयम नत्याग्ने बताएका छन्।

धामीले राहत शिक्षक व्यवस्थापनबारे आफ्नो ‘बटम लाइन’ रहेको उल्लेख गर्दै कसैको रोजगारी नखोसिने र सबैको भविष्य सुरक्षित हुने गरी समाधान खोजिनुपर्ने बताएका हुन्।

उनका अनुसार पेसागत निरन्तरता सबै राहत शिक्षकको साझा चाहना भए पनि सामाजिक सञ्जालमा हुने आरोपप्रत्यारोपले होइन ऐन, कानुन र सरकारी नीतिले मात्र पेसागत सुरक्षा सुनिश्चित गर्न सक्छ।

धामीले राहत शिक्षकहरूको सेवा अवधि, अवस्था र आवश्यकता फरकफरक भएकाले एउटै उपायले सबैलाई न्याय नहुने उल्लेख गर्दै सरकारले बहुवैकल्पिक व्यवस्थापनको नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्।

उनले अधिकांश राहत शिक्षकको जीविकोपार्जन यही पेसासँग जोडिएको उल्लेख गर्दै आवश्यक पर्दा नियुक्ति दिएर वर्षौंसम्म काम गराउने र पछि बेवास्ता गर्ने अधिकार राज्यलाई नरहेको बताए। ‘हामी राज्यको नीतिका कारण पीडित भएका हौं, दोषी होइनौं,’ उनले भने।

धामीले आफ्नो आवाज कुनै व्यक्ति विशेषको पक्ष वा विपक्षमा नभई न्यायपूर्ण व्यवस्थापन, पेसागत सम्मान र सबै राहत शिक्षकको भविष्य सुरक्षित गर्ने उद्देश्यमा केन्द्रित रहेको बताए।

प्रकाशित: १५ असार २०८३ १०:४७ | Monday, June 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast