काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको बढ्दो आन्तरिक विवाद र नेताहरूबीचको टकरावलाई लिएर पार्टीका प्रवक्ता एवं संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आक्रोश पोखेका छ्न्। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणालाई लक्षित गर्दै शाहीले नेतृत्वको अहंकार र पदको लडाइँका कारण युवा पुस्ता र आम कार्यकर्तामा चरम निराशा छाएको बताएका हुन्।
सांसद शाहीले पार्टी नेतृत्वलाई जिम्मेवार बन्न चेतावनी दिँदै सामाजिक सञ्जाल मार्फत यस्तो आक्रोश व्यक्त गरेका हुन्।
सांसद शाहीले पार्टीका शीर्ष नेताहरूको कार्यशैलीप्रति तिखो प्रहार गर्दै उनीहरूको ‘डीएनए’ मै मिलेर जाने संस्कार नभएको टिप्पणी गरेका छ्न्। नेताहरूको जुँगाको लडाइँले गर्दा तल्लो तहका कार्यकर्ताहरू विभाजित भई एकअर्काको पक्षविपक्षमा लडिरहेको भन्दै उनले नेतृत्वलाई लाज लाग्नुपर्ने बताएका छन्।
‘यतिखेरको समय एकअर्कालाई आरोप लगाएर टुट्ने र फुट्ने होइन, जुट्ने हो। तर तिमीहरूलाई देखेर युवाहरूले के आशा गर्ने? एउटालाई देशभरि हार बेहोर्दासम्म नेतृत्व छोड्नै मन छैन, अर्कोलाई चुनावै नलडी नेतृत्व लिनुपर्ने पदका लागि यति धेरै हानाथाप र अहंकार किन,’ शाहिले भनेका छन्।
पार्टीभित्र पछिल्लो समय देखिएका गतिविधिहरूलाई उनले नाटकको संज्ञा दिएका छन्। ‘एउटाले नाटक गरेर विज्ञप्ति निकाल्छन्, अर्कोले भेला गर्दै फुटेर जाने संकेत देखाउँछन्,’ नेताहरूको प्रवृत्तिमाथि खनिँदै शाहीले भने, ‘आफैले आफैलाई भलादमी देखाउन यो सबै भइरहेको छ। तिमीहरूको यो खुरापाती राजनीति देखेर भगवान पनि वाक्क भइसके होलान्।’





