बुटवल- बुटवल उपमहानगरले ल्यायो तीन अर्ब ८५ करोडको बजेट बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल तीन अर्ब ८५ करोड रुपैयाँको आयव्यय अनुमानसहितको बजेट वक्तव्य सार्वजनिक गरेको छ। उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुधबार नगर सभामा उक्त बजेट प्रस्तुत गरेकी हुन्।
‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल सहर’ भन्ने नारालाई आत्मसात् गर्दै ल्याइएको यस बजेटमा कुल खर्चमध्ये चालुतर्फ ५२ प्रतिशत र पुँजीगततर्फ ४८ प्रतिशत रहने अनुमान गरिएको छ। प्रस्तावित बजेटको व्यय अनुमानअनुसार सामाजिक विकासतर्फ २८ प्रतिशत र आर्थिक विकासतर्फ १२ प्रतिशत बजेट विनियोजन गरिएको छ।
बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारबाट संघीय समानीकरण अनुदानबापत २९ करोड २२ लाख, ससर्त अनुदान (चालु) तर्फ ५० करोड २५ लाख, ससर्त अनुदान (पुँजीगत) तर्फ रु. सात करोड ४ लाख, विशेष अनुदान (पुँजीगत) तर्फ ९० लाख र समपूरक अनुदान (पुँजीगत) तर्फ रु. २० लाख प्राप्त हुने अनुमान छ।
यस्तै प्रदेश सरकारबाट प्रदेश समानीकरण अनुदानबापत रु. दुई करोड तीन लाख ६५ हजार, ससर्त अनुदान (चालु) तर्फ ५६ लाख ५० हजार, ससर्त अनुदान (पुँजीगत) तर्फ एक करोड ७३ लाख, समपूरक अनुदान (पुँजीगत) बापत एक करोड ५० लाख र विशेष अनुदान (पुँजीगत) तर्फ रु. २० लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ।
राजस्व बाँडफाँटतर्फ संघीय सरकारबाट १९ करोड ४३ लाख ८६ हजार र प्रदेश सरकारबाट दुई करोड ७५ लाख ६१ हजार प्राप्त हुने अनुमान छ। नगरको आन्तरिक स्रोत व्यवस्थापनतर्फ स्थानीय आन्तरिक स्रोतबापत एक अर्ब ५० करोड ३८ लाख ५९ हजार दुई सय संकलन हुने लक्ष्य राखिएको छ। यसबाहेक स्थानीय राजस्व बाँडफाँटअन्तर्गत विज्ञापन, मनोरञ्जन कर र दहतार बहत्तरको बिक्रीबाट ७८ करोड ७७ लाख ७८ हजार आठ सय प्राप्त हुने तथा गत आर्थिक वर्षको बचत (अल्या) ४० करोड गरि कुल स्रोत तीन अर्ब ८५ करोड रहने अनुमान गरिएको छ।
बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले बजेट निर्माणमा सहयोग पुर्याउने राजनीतिक दल, व्यावसायिक तथा सामाजिक संघसंस्था र नगर प्रमुख लगायत सम्पूर्ण नगरवासीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सकारात्मक र रचनात्मक सल्लाह, सुझाव र सहयोगको अपेक्षा राखेकी छन्।




