काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले शिष्टाचार भेट गरेका छन्। बुधबार सिंहदरबारस्थित अर्यालको कार्यकक्षमा दुवै जनाबीच भेटवार्ता भएको हो।
सभामुख अर्यालले नेपाल–बंगलादेश सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको उल्लेख गर्दै नेपालले बंगलादेशसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको बताए।
सभामुख अर्यालले बंगलादेशका जनताबाट प्राप्त जनादेशका आधारमा गठित सरकारप्रति शुभकामना व्यक्त गर्दै जनताको सेवा तथा देशको प्रगति र समृद्धिका लागि सफल कार्यकालको कामना गरे।
नेपालमा पनि निर्वाचन सफलतापूर्वक सम्पन्न भई नयाँ सरकार गठन भइसकेको प्रसंग उल्लेख गर्दै उनले दुवै देशका सरकारबीचको सहकार्य थप सुदृढ भई द्विपक्षीय सम्बन्धका विविध आयामले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे।
सभामुख अर्यालले बंगलादेशले हासिल गरेको आर्थिक तथा भौतिक विकासको प्रशंसा गर्दै नेपालको विकास यात्रामा बंगलादेशका असल अभ्यास उपयोगी हुन सक्ने धारणा राखे।
खेलकुद क्षेत्रमा बढ्दो सहकार्यले पनि दुई देशका जनताबीचको सम्बन्धलाई थप नजिक ल्याएको उल्लेख गर्दै सभामुख अर्यालले फुटबल, क्रिकेट, भलिबललगायत खेलमार्फत युवा पुस्ताबीच मित्रता, सम्पर्क र आपसी समझदारी अभिवृद्धि भएको बताए।
उनीहरुबीच शिक्षा, स्वास्थ्य, कृषि, जलवायु परिवर्तन तथा क्षेत्रीय सहकार्यका विविध विषयमा विचार विमर्श भएको सभामुखको सचिवालयले जनाएको छ।
राजदूत रहमानले ऊर्जा, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य तथा जनस्तरीय सम्बन्धका क्षेत्रमा नेपाल र बंगलादेशबीच विद्यमान सहकार्यलाई थप विस्तार गर्न बंगलादेश सरकार सकारात्मक रहेको बताए।
उनले दक्षिण एसियाली क्षेत्रीय सहयोगलाई प्रभावकारी बनाउँदै साझा हितका विषयहरूमा मिलेर काम गर्नुपर्नेमा जोड दिएको सभामुखको सचिवालयले जनाएको छ।




