काठमाडौँ- काठमाडौँस्थित बंगलादेश दूतावासले उत्सव कुञ्जमा ‘बंगलादेश म्यांगो डेलिकेसी’ नामक आँप महोत्सव आयोजना गरेको छ। महोत्सवमा बंगलादेशका ढिलो मौसममा फल्ने (लेट भेराइटी) विभिन्न प्रजातिका आँप प्रदर्शन गरिनुका साथै स्वाद चखाउने कार्यक्रमसमेत गरिएको थियो।
कार्यक्रमको उद्देश्य बंगलादेशी आँपको समृद्ध परम्परा, उत्कृष्ट गुणस्तर र विविध स्वादलाई प्रवर्द्धन गर्नुका साथै ताजा फलफूल तथा मूल्य अभिवृद्धि गरिएका कृषि उत्पादनको निर्यातमा बंगलादेशको बढ्दो सम्भावनालाई उजागर गर्नु रहेको दूतावासले जनाएको छ।
नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले कृषि तथा कृषि–प्रशोधन क्षेत्रमा बंगलादेशले हासिल गरेका हालका उपलब्धिबारे चर्चा गरे। उनले बंगलादेशमा आँप संस्कृति, सम्पदा, परम्परा र कृषि प्रणालीको अभिन्न हिस्सा भएको बताए।
मुगल साम्राज्यकालीन दक्षिण एसियाको इतिहास स्मरण गर्दै उनले बंगलादेशका उर्वर जलोढ मैदान र अनुकूल हावापानीका कारण विश्वकै उत्कृष्ट आँप उत्पादन हुने उल्लेख गरे। खिरसापात (हिमसागर), हरिभांगा, लाङ्ग्रा, फजली, गोपालभोग, अम्रपाली, अश्विना, बनाना म्यांगो, काटिमोन, गौरामोती तथा बारी प्रजातिका आँप असाधारण मिठास, विशिष्ट सुगन्ध, उच्च गुणस्तर र पोषणका कारण विश्वभर प्रशंसित रहेको उनको भनाइ थियो।

सार्क महासचिव गोलाम सरवारले दक्षिण एसियाली आँपको ऐतिहासिक महत्व र स्वादबारे चर्चा गर्दै पर्याप्त सम्भावना हुँदाहुँदै पनि यस क्षेत्रबाट अन्तर्राष्ट्रिय बजारमा आँप तथा प्रशोधित उत्पादनको निर्यात न्यून रहेको बताए। उनले यस्ता कार्यक्रम आयोजना गरेकोमा दूतावासको प्रशंसा गर्दै कृषि क्षेत्रमा सदस्य राष्ट्रबीच सहकार्य विस्तार गर्न आग्रह गरे।
परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव गहेन्द्र राजभण्डारीले बंगलादेश दूतावासले आयोजना गरेको कार्यक्रमले दुई मित्रराष्ट्रबीचको आत्मीयता र जनस्तरको सम्बन्ध थप बलियो बनाएको बताए।
प्रदर्शनीमा बंगलादेशका ताजा आँपसँगै आँपबाट तयार गरिएका प्रशोधित खाद्यवस्तुहरूको पनि प्रदर्शन गरिएको थियो। आगन्तुकहरूले बंगलादेशी आँपको स्वाद, विविधता र पाककलासम्बन्धी विशेषता अनुभव गर्नुका साथै आधुनिक बागवानी, दिगो कृषि र खाद्य प्रशोधन प्रविधिबारे जानकारी प्राप्त गरेका थिए।
कार्यक्रममा बंगलादेशका आँप किसान रोफिकुल इस्लामले विगत १५ वर्षदेखि अपनाउँदै आएको गुड एग्रिकल्चरल प्र्याक्टिसअनुरूपको आँप खेती प्रणाली र आफ्नो अनुभव प्रस्तुत गरेका थिए।
कार्यक्रममा नेपाल सरकारका वरिष्ठ अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, व्यवसायी, आयातकर्ता, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका आमन्त्रित अतिथिको उल्लेख्य सहभागिता रहेको थियो।



