काठमाडौँ- सुनसरीको इनरुवामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते छन्। दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका–८ का २९ वर्षीय विनोद चौधरीको मृत्यु भएको हो। उनी दुर्घटनामा गम्भीर घाइते भएका थिए। टाउकोमा गहिरो चोट लागेको उनलाई उपचारका लागि विराट नर्सिङ होम विराटनगर लगिएकोमा उपचारकै क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ।
सुनसरीको झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५८२२ नम्बरको मोटरसाइकल गए राति बेलुका करिब ११ः०० बजे सडक छेउमा रोकिराखिएको को १ख ५१२८ नम्बरको टिपरमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काले बताए ।
मोटरसाइकलमा पछाडि सवार इनरुवा–८ का २० वर्षीय आर्यन चौधरी र २८ वर्षीय आशिष चौधरी घाइते भएका छन्। प्रहरीका अनुसार टिपर चालक सुनसरीको कोशी गाउँपालिका–३ का ४८ वर्षीय लालमोहमद मियाँलाई इलाका प्रहरी कार्यलय पकलीले नियन्त्रणमा लिएको छ।




