काठमाडौँ- कप्तान ह्यारी केनको दुई गोल तथा जुड बेलिङ्घम र मार्कस रासफोर्डको उत्कृष्ट प्रदर्शनको मद्दतले इंग्ल्यान्डले फिफा विश्वकपको आफ्नो पहिलो खेलमा क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गरेको छ। गएराति सम्पन्न खेलमा जित निकाल्दै इंग्ल्यान्डले लगातार तेस्रो विश्वकपमा विजयी सुरुवात गर्ने कीर्तिमान समेत बनाएको छ।
इंग्ल्यान्डका लागि केनले दुई तथा बेलिङ्घम र रासफोर्डले एक–एक गोल गरे। क्रोएसियाका मार्टिन बातुरिना र पेटार मुसाको गोल टोलीलाई जित दिलाउन पर्याप्त बनेन।
खेलको १२ औँ मिनेटमा इंग्ल्यान्डका नोनी माडुएकेलाई क्रोएसियाका कप्तान लुका मोड्रिचले पेनाल्टी क्षेत्रभित्र लडाएपछि इंग्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो। केनको पहिलो प्रहार क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाएका थिए। तर, गोलकिपर आफ्नो लाइनभन्दा अघि बढेको र डिफेन्डर योस्को ग्वार्डिओल नियमविपरित क्षेत्रभित्र छिरेको भन्दै रेफ्री क्लेमेन्ट टर्पिनले पेनाल्टी दोहोर्याउन आदेश दिए। दोस्रो प्रयासमा केनले कुनै गल्ती नगरी टोलीलाई १–० को अग्रता दिलाए।
३६ औँ मिनेटमा क्रोएसियाका मार्टिन बातुरिनाले बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसको ६ मिनेटपछि ४२ औँ मिनेटमा डिक्लान राइसको कर्नर पासमा केनले हेडमार्फत व्यक्तिगत दोस्रो गोल गरे।
यो गोलसँगै केनले ग्यारी लाइनकरको नाममा रहेको इंग्ल्यान्डका लागि विश्वकपमा सर्वाधिक १० गोल गर्ने कीर्तिमान बराबरी गरेका छन्। पहिलो हाफको इन्जुरी समय समयमा क्रोएसियाका पेटार मुसाले भलीमार्फत गोल गरेपछि पहिलो हाफ २–२ को बराबरीमा सकिएको थियो।
दोस्रो हाफ सुरु भएको दुई मिनेटमै जुड बेलिङ्घमले दायाँ विङ्ग्सबाट बल अघि बढाउँदै लिभाकोभिचलाई छक्याएर गोल गरेपछि इंग्ल्यान्डले ३–२ को अग्रता लियो। नयाँ मुख्य प्रशिक्षक थोमस टुचेलको रणनीति अनुसार आक्रामक खेलेको इंग्ल्यान्डका लागि ८५ औँ मिनेटमा वैकल्पिक खेलाडी मार्कस रासफोर्डले चौथो गोल थपे।
अर्का वैकल्पिक खेलाडी बुकायो साकाको उत्कृष्ट पासलाई सदुपयोग गर्दै रासफोर्डले गोल गरेपछि इंग्ल्यान्डको ४–२ को जित सुनिश्चित भएको हो।




