काठमाडौँ- सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सिरहामा परीक्षाका क्रममा परीक्षार्थीबाट खोसिएका मोबाइल फोन र स्मार्ट वाच नष्ट गरिनु गैरकानुनी भएको बताएका छन्।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले कसैको निजी सम्पत्ति त्यसरी नष्ट गरिनु गैरकानुनी भएको बताए।
उनले यसको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने र पीडित विद्यार्थीलाई क्षतिपूर्ति दिइनुपर्ने पनि बताए।
यस घटनामा संघीय सरकार र शिक्षा मन्त्रालयको कुनै पनि निर्देशन नरहेको स्पष्ट पारेका छन्। ‘हाम्रो मन्त्रालयबाट त्यस्तो कुनै पनि निर्देशन गएको छैन, जुन निर्देशन भएर मोबाइल नष्ट भयो, त्यो गैरकानुनी छ,’ उनले भने, ‘कसैले कानुनी प्रक्रिया अगाडि सारेर अदालतमा गएर अदालतले क्षतिपूर्ति दिनु भन्यो भने अथवा सम्बन्धित अन्य कुनै निकायले क्षतिपूर्ति दिने भनेर कुरा गर्यो भने, गैरकानुनी कुरा हो भने त क्षतिपूर्ति दिनुपर्छ।’
सिरहामा एसईई र कक्षा १२ को परीक्षाका क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट ७ थान आइफोन, ४८९ थान एन्ड्रोइड फोन र ५ थान स्मार्ट वाच जफत गरिएको थियो।
ती उपकरणहरूलाई प्रमुख जिल्ला अधिकारी नेतृत्वको परीक्षा समन्वय समितिले जिल्ला प्रहरी कार्यालय सिराहाको प्रांगणमा पानी भरिएको ड्रममा डुबाएर नष्ट गरेको थियो। उक्त कार्यको चौतर्फी आलोचना भएको थियो।




