एमसीए नेपालद्वारा २९७ किलोमिटर प्रसारण लाइन तथा सबस्टेसन निर्माणको शिलान्यास

हिमाल प्रेस २७ जेठ २०८३ १७:१३ | Wednesday, June 10, 2026
18
SHARES
एमसीए नेपालद्वारा २९७ किलोमिटर प्रसारण लाइन तथा सबस्टेसन निर्माणको शिलान्यास

काठमाडौँ- एमसीए नेपालले बुधबार मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत विद्युत् प्रसारण परियोजनाको रतमाटे सबस्टेसन, न्यू दमौली सबस्टेसन तथा २९७ किलोमिटर लामो प्रसारण लाइन निर्माण कार्यको शिलान्यास गरेको छ।

संयुक्त राज्य अमेरिकाको ५५० मिलियन अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९७ मिलियन अमेरिकी डलर लगानीमा सञ्चालन भएको यो परियोजनाले अन्तर्राष्ट्रियस्तरको विद्युत् प्रसारण पूर्वाधार निर्माण तथा सडक सञ्जाल सुधार गर्ने लक्ष्य राखेको छ।

नुवाकोटस्थित रतमाटे सबस्टेसन परिसरमा आयोजित शिलान्यास कार्यक्रममा नेपाल सरकारका उच्च अधिकारी, एमसीसी तथा अमेरिकी दूतावासका प्रतिनिधि, विकास साझेदार, निर्माण कम्पनीका प्रतिनिधि, स्थानीय सरोकारवाला, सञ्चारकर्मी तथा समुदायका अगुवाहरूको सहभागिता रहेको थियो।

नेपाल सरकार र अमेरिकी सरकारको संयुक्त लगानीमा सञ्चालित एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको विद्युत् प्रसारण परियोजनाले ४०० केभी क्षमताका उच्चस्तरीय सबस्टेसन तथा ३१५ किलोमिटर प्रसारण लाइन निर्माण गर्नेछ।

यसले नेपालको राष्ट्रिय विद्युत् प्रसारण प्रणालीलाई सुदृढ बनाउने, प्रसारण अवरोध कम गर्ने, घरपरिवार तथा व्यवसायलाई भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्ने र क्षेत्रीय विद्युत् बजारमा नेपालको सहभागिता बढाउने अपेक्षा गरिएको छ।

निर्माणाधीन २९७ किलोमिटर प्रसारण लाइन सञ्जालमा रतमाटे-न्यू दमौली, न्यू दमौली-न्यू बुटवल तथा लप्सीफेदी-रतमाटे-न्यू हेटौँडा खण्ड समावेश छन्।

अर्थ मन्त्रालयका सचिव तथा एमसीए-नेपाल सञ्चालक समितिका अध्यक्ष डा.घनश्याम उपाध्यायले परियोजनालाई नेपालको आर्थिक भविष्यसँग जोडिएको महत्वपूर्ण लगानीका रूपमा व्याख्या गर्दै विद्युत् प्रसारण पूर्वाधार सुदृढीकरणले ऊर्जा सुरक्षा, लगानी प्रवर्द्धन, औद्योगिक विकास तथा नेपालको ऊर्जा सम्भावनाको अधिकतम उपयोगमा योगदान पुर्‍याउने बताए।

नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बोमले एमसीसी नेपाल कम्प्याक्टप्रति अमेरिकाको प्रतिबद्धता दोहोर्‍याउँदै यस परियोजनाले नेपालको ऊर्जा भविष्यको मेरुदण्ड निर्माण गर्ने बताए। उनले भरपर्दो विद्युत् आपूर्तिले घरपरिवार, उद्योग, कृषि तथा व्यवसाय क्षेत्रलाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गरे।

एमसीसीकी आवासीय देश निर्देशक डियान फ्रान्सिस्कोले यी लगानीहरूले नेपालको ऊर्जा क्षेत्रको पूर्ण सम्भावना उपयोग गर्न सहयोग पुग्ने बताउँदै घरपरिवार, व्यवसाय तथा उद्योगलाई भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न आवश्यक प्रसारण प्रणाली सुदृढ हुने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिरहेका दीर्घायु कुमार श्रेष्ठले एमसीसीअन्तर्गत निर्माण हुने पूर्वाधार छुट्टै प्रणाली नभई नेपालको राष्ट्रिय प्रसारण सञ्जालको महत्वपूर्ण हिस्सा हुने बताए।

एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले परियोजनालाई नेपालको ऊर्जा पूर्वाधार विकासको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसले प्रसारण अवरोध हटाउने, राष्ट्रिय तथा क्षेत्रीय विद्युत् सञ्जालबीचको अन्तरसम्बन्ध विस्तार गर्ने तथा नेपाललाई क्षेत्रीय ऊर्जा व्यापारको प्रमुख केन्द्रका रूपमा स्थापित गर्न मद्दत गर्ने बताए।

परियोजनाअन्तर्गत भारतको टेक्नो इलेक्ट्रिक एण्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले रतमाटे र न्यू दमौली सबस्टेसन निर्माण गरिरहेको छ। त्यस्तै, आशिष-बोजलार जेभीले ११७ किलोमिटर लामो लप्सीफेदी-रतमाटे-न्यू हेटौँडा प्रसारण लाइन निर्माण गरिरहेको छ भने एन्जेलिक-स्किपर जेभी र वाइबा-सलासार जेभीले क्रमशः रतमाटे-न्यू दमौली तथा न्यू दमौली-न्यू बुटवल खण्ड निर्माण गरिरहेका छन्। प्रत्येक खण्डको लम्बाइ करिब ९० किलोमिटर रहेको छ।

निर्माण सम्पन्न भएपछि रतमाटे र न्यू दमौली सबस्टेसन नेपालका सबैभन्दा ठूला उच्च भोल्टेज सबस्टेसनमध्ये पर्नेछन्। प्रसारण लाइनसहितको यो पूर्वाधारले नेपालको विद्युत् प्रसारण प्रणालीलाई थप सुदृढ बनाउँदै दीर्घकालीन ऊर्जा माग व्यवस्थापन तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित: २७ जेठ २०८३ १७:१३ | Wednesday, June 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast