काठमाडौँ- दक्षिण भारतीय सिनेमाका सुपरस्टार जोसेफ विजयको पार्टीले तमिलनाडु विधानसभा चुनावमा सबैलाई चकित पार्दै आग्रता कायम गरेको छ।
विजयले दुई वर्षअघि स्थापना गरेर पहिलोपटक चुनावमा भाग लिएको तमिलगा वेट्री कडगम (टीभीके) पार्टीले अग्रता कायम गरेको हो।
विजय, जसलाई उनका प्रशंसकहरू ‘थलपति’ भनेर चिन्छन्, उनको पार्टी टीभीकेले मुख्यमन्त्री एमके स्टालिनको डीएमकेलाई पनि रुझानमा पछि पारेको छ।
मतगणनाको पछिल्लो परिणामअनुसार विजयको टीभीके पार्टी १०४ सिटमा अग्रता कायम गरेको छ भने सत्तारुढ द्रविड मुनेत्र कडगम (डीएमके) ६३ सिटमा मात्र सीमित छ। विपक्षी एआईएडीएमके पनि हाल डीएमकेभन्दा अघि बढेर ६७ सिटमा अग्रता बनाइरहेको छ।
स्वयं विजय पेराम्बुर सिटबाट आफ्ना निकटतम प्रतिद्वन्द्वी आ डी शेखरलाई पछि पार्दै अग्रता लिएका छन्। अभिनेता विजय तमिलनाडुका साथै हिन्दी भाषी क्षेत्रमा पनि लोकप्रिय छन्।
एक्जिट पोलमा उनको राम्रा प्रदर्शनको अपेक्षा गरिए पनि रुझानहरू भने झनै चकित पार्ने खालका आइरहेका छन्। चलचित्र क्षेत्रमा सफलता हासिल गरेपछि अब उनी राजनीतिमा पनि स्थापित हुने बाटोमा अगाडि बढेका छन्।
तमिलनाडुको करुरमा उनको पार्टी टीभीकेको र्यालीको क्रममा मच्चिएको भागदौठमा ३९ जनाको मृत्यु भएपछि उनको नाम चर्चामा आएको थियो। यो घटनाका मृतक परिवारलाई विजयले २०–२० लाख र घाइतेहरूलाई २–२ लाख नगद सहयोग गर्ने घोषणा गरेका थिए।
विजयको पूरा नाम जोसेफ विजय चन्द्रशेखर हो। उनको जन्म २२ जुन १९७४ मा चेन्नईमा भएको थियो। उनका बुबा एस.ए.चन्द्रशेखर तमिल सिनेमाका लोकप्रिय निर्देशक हुन् भने आमा शोभा एक गायिका थिइन्। फिल्मी वातावरणमा हुर्किएका विजयले सानै उमेरमा अभिनय सुरू गरेका थिए।
फेब्रुअरी २०२४ मा विजयले औपचारिक रूपमा राजनीतिक यात्रा प्रारम्भ गर्दै टीभीके पार्टीको घोषणा गरे। उनले २०२४ को लोकसभा चुनावमा भाग नलिने घोषणा गरेका थिए। पार्टी स्थापना गर्ने क्रममा नै उनले २०२६ को विधानसभा चुनावमा भाग लिने बताएका थिए। यो घोषणाका साथै उनले चलचित्र छोड्नेसमेत बताएका थिए।



