चीनसँग पनि नेपाली महिला क्रिकेट टिम पराजित, एसियन गेम्स खेल्ने अवसर गुमायो

हिमाल प्रेस १७ जेठ २०८३ ११:४९ | Sunday, May 31, 2026
6
SHARES
चीनसँग पनि नेपाली महिला क्रिकेट टिम पराजित, एसियन गेम्स खेल्ने अवसर गुमायो

काठमाडौँ- चीनसँग पराजित भएपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको एसियन गेम्स खेल्ने अवसर पनि गुमाएको छ। एसियन छनोटअन्तर्गत तेस्रो स्थानका लागि आइतबार बिहान मलेसियाको वायोमास ओभलमा भएको खेलमा नेपाल चीनसँग डीएलएस मेथडमा ५ विकेटले हारेको हो।

योसँगै नेपाली महिला क्रिकेट टोलीले जापानमा हुने एसियन गेम्समा छनोट हुने अन्तिम मौका पनि गुमाएको हो। नेपाललाई पराजित गरेसँगै चीनको महिला क्रिकेट टोलीले भने एसियन गेम्समा स्थान बनाएको छ। वर्षाका कारण खेल ७ ओभरमा छोट्याइएको थियो। नेपालले ७ ओभरमा ५ विकेटको क्षतिमा ५० रनको योगफल तयार पारेको थियो।

डीएल मेथडमा चीनले ४३ रनको नयाँ लक्ष्य पाएको थियो। जुन लक्ष्य चीनले निर्धारित ७ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। एसियन खेलकुदमा स्थान बनाउन अन्तिम बलमा २ रन आवश्यक परेको खेलमा काई युझीले चौका प्रहार गर्दै चीनलाई जित दिलाइन्।

मिङयु झुले बनाएको १८ रन नै चीनका लागि सर्वाधिक रह्यो। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। सुरुवातमा आक्रामक ब्याटिङ गरेको चीनले तेस्रो ओभरको अन्तिम बलमा कप्तान झुलाई गुमाएको थियो।

नेपालकी रिया शर्माले २ विकेट लिइन्। २ खेलाडी रन आउट हुन पुगे। त्यसअघि चीनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ७ ओभरमा ५ विकेटको क्षतिमा ५० रनको योगफल तयार पारेको थियो। तेस्रो ओभरको खेल जारी रहँदा पानी परेपछि खेल ७ ओभरमा छोट्टाइएको थियो।

नेपालका लागि कविता कुवँर २२ र रुविना क्षेत्री ३ रनमा अविजित रहे। कविताले १० बलमा १ चौका र १ छक्का प्रहार गरिन्। कप्तान इन्दु बर्मा ११ रनमा क्याच आउट भइन्। उपकप्तान पूजा महतो दोस्रो ओभरमै १ रन बनाउँदा क्याच आउट भइन्। सम्झना खड्का ५ र रुबी पोडार शून्य रनमै आउट भए। सोनी पाख्रिन ५ रनमा रिटायर्ट आउट भइन्।

प्रकाशित: १७ जेठ २०८३ ११:४९ | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast