प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति कांग्रेसको भर्त्सना, स्पष्टीकरण माग

हिमाल प्रेस १७ जेठ २०८३ २२:४० | Sunday, May 31, 2026
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति कांग्रेसको भर्त्सना, स्पष्टीकरण माग कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‌मा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई राष्ट्रहितविपरीत, गैरजिम्मेवार र कूटनीतिक मर्यादाविपरीत भएको जनाएको छ।

कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा ‘हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसले नेपालको स्थापित राष्ट्रिय अडान, सार्वभौमिकता र राष्ट्रिय भावनामाथि आघात पुर्‍याएको दाबी गरेका छन्।

कांग्रेसले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषयमा प्रधानमन्त्रीले ऐतिहासिक तथ्य र प्रमाणबिनै टिप्पणी गरेको आरोप लगाएको छ। विज्ञप्तिमा संसद्जस्तो गरिमामय मञ्चमा व्यक्त गरिएका यस्ता धारणा अक्षम्य, आपत्तिजनक र निन्दनीय रहेको उल्लेख छ।

कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित ३७२ वर्ग किलोमिटर नेपाली भूमिमाथिको अतिक्रमणको विषयलाई सीमा क्षेत्रमा देखिने सामान्य प्राविधिक समस्यासँग तुलना गर्नु गलत भएको जनाएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाल–भारत सीमा विवादबारे नेपालको दाबीलाई कमजोर बनाउने र दुई देशबीच कूटनीतिक माध्यमबाट समाधान खोज्ने सहमतिमाथि असर पुर्‍याउने दाबी कांग्रेसको छ।

प्रधानमन्त्री शाहले सीमा समस्याका सम्बन्धमा बेलायतसँग पनि संवाद भइरहेको बताएका विषयमा समेत कांग्रेसले प्रश्न उठाएको छ। स्थापित कूटनीतिक संयन्त्रलाई बेवास्ता गर्दै बेलायतको प्रसंग किन उठाइएको हो भन्ने स्पष्ट पार्न कांग्रेसले माग गरेको छ। उक्त अभिव्यक्तिलाई पार्टीले ‘भ्रामक, गैरजिम्मेवार र हास्यास्पद’ कूटनीतिक प्रस्तुति भनेको छ।

विज्ञप्तिमार्फत कांग्रेसले प्रधानमन्त्रीको भनाइ सरकारको आधिकारिक धारणा, राष्ट्रिय स्वतन्त्र पार्टीको दृष्टिकोण वा प्रधानमन्त्रीको व्यक्तिगत अभिव्यक्ति के हो भन्ने स्पष्ट गर्न माग गरेको छ। यस विषयमा प्रधानमन्त्री र सरकारले संसद् तथा जनतासमक्ष अविलम्ब स्पष्टीकरण दिनुपर्ने कांग्रेसको माग छ।

कांग्रेसले ऐतिहासिक तथ्य, सन्धि र प्रमाणका आधारमा राष्ट्रिय अखण्डता तथा स्वाभिमानको रक्षा गर्दै सीमा समस्याको समाधान वार्ता र कूटनीतिक पहलमार्फत खोजिनुपर्ने आफ्नो पुरानै अडान दोहोर्‍याएको छ। साथै प्रधानमन्त्रीबाट आएको यस्तो अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै घोर भर्त्सना गरेको जनाएको छ।

प्रधानमन्त्रीले संसद्‌मा बोल्दै नेपाल-भारत सीमा विवाद एकतर्फी मात्र नभएको बताउँदै  केही स्थानमा नेपालले पनि भारततर्फको भूमि प्रयोग गरेको तथ्य आफू प्रधानमन्त्री बनेपछि मात्रै स्पष्ट भएको उल्लेख गरेका थिए। प्रधानमन्त्री बालेनले भनेका थिए, ‘भारतले नेपालको जग्गा मात्रै मिचेको छैन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ, यो कुरा म प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ।’

बल्ल मुख खोले प्रधानमन्त्रीले, संसद्‌मै उठ्यो नयाँ विवाद

प्रकाशित: १७ जेठ २०८३ २२:४० | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast