काठमाडौँ- आईसीसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी त्रिकोणात्मक सिरिजको अन्तिम खेल आज नेपाल र अमेरिकाबीच हुँदैछ। खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा बिहान ९:३० बजेदेखि सुरु हुनेछ।
लिग-२ अन्तर्गत बाँकी खेलहरू जित्नुपर्ने दबाब भएकाले आजको खेल नेपालका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ। विश्वकप ग्लोबल क्वालिफायरको सम्भावना कायम राख्न र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन नेपाललाई शीर्ष ६ भित्र रहनुपर्ने चुनौती छ।
जारी सिरिजमा नेपालले तीन खेल खेलिसकेको छ। जसमा एक जित, एक हार र एक खेल वर्षाले प्रभावित भएको छ। वर्षाका कारण डिएलएस विधिबाट नतिजा तय हुँदा नेपाल स्कटल्याण्डसँग २ रनले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो।
अमेरिकाविरुद्ध पहिलो खेलमा नेपालले ९ विकेटको शानदार जित निकालेको थियो। यस सिरिजमा अमेरिका र स्कटल्याण्ड अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहेका छन्।
नेपाल भने सिरिजपछि सुधार गर्दै तालिकामा दुई स्थान माथि उक्लिएको छ। यसअघि सातौं स्थानमा रहेको नेपाल हाल पाँचौं स्थानमा पुगेको छ। जसमा क्यानडा र नामिबियालाई पछि पारेको हो।




