काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले चैत मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ। यस विवरणमा विद्यालय शिक्षा सुधारसँग सम्बन्धित केही महत्त्वपूर्ण कार्यक्रम अघि बढाइए पनि दुई प्रमुख बुँदामा कुनै प्रगति नभएको उल्लेख गरिएको छ।
मन्त्रालयले विद्यालयको गुणस्तर सुधारका लागि बजेटको सदुपयोग गर्ने र ‘शिक्षक बैंक’ स्थापना गर्ने योजना अघि सारेको थियो। तर हालसम्म शिक्षक बैंक स्थापना गर्ने कार्यमा कुनै प्रगति भएको छैन।
स्नातक तह उत्तीर्ण स्वयंसेवक शिक्षक परिचालन गर्ने कार्यक्रम पनि कागजी चरणमै सीमित रहेको जनाइएको छ। यी दुवै कार्यक्रम शिक्षा गुणस्तर सुधारसँग प्रत्यक्ष जोडिएका भए पनि कार्यान्वयन नहुँदा चुनौती देखिएको छ।
मन्त्रालयले विद्यालय कर्मचारीका लागि संघीय सरकारबाट उपलब्ध गराइँदै आएको सशर्त अनुदान वृद्धि गरेको जनाएको थियो। यसका लागि रु. १० अर्ब १६ करोड विनियोजन गरिएको थियो।
तर प्रगति विवरणमै यी दुई मुख्य कार्यक्रममा कुनै उपलब्धि नभएको स्वीकार गरिएको छ। शिक्षा क्षेत्रमा दक्ष शिक्षक अभाव र गुणस्तर सुधारका बहस चलिरहेका बेला आएको यो प्रगति विवरणलाई सरोकारवालाले महत्त्वका साथ हेरेका छन्।
प्रगति विवरण




