काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसरमा उनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। एक विज्ञप्ति जारी गर्दै नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका दुई प्रमुख व्यक्तित्वको रहस्यमय निधनले देशलाई अपूरणीय क्षति पुगेको स्मरण गरेका छन्।
जननेता मदन भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनको नवीन विचारक र सिद्धान्तकारका रूपमा चित्रण गर्दै उनले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवादु (जबज)ले नेपाली क्रान्तिलाई मौलिक दिशा दिएको उनले उल्लेख गरेका छन्। विश्वभर कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला भण्डारीले प्रतिपादन गरेको विचारले नेपालमा कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय र बलियो बनाएको उनको भनाइ छ। यस्तै, जीवराज आश्रितले पार्टीको विधि, पद्धति र संगठन निर्माणमा खेलेको भूमिकालाई पनि उनले विशेष स्मरण गरेका छन्।
आफ्नो सन्देशमा पूर्वप्रधानमन्त्री नेपालले वर्तमान राजनीतिक चुनौतीबारे चर्चा गर्दै दक्षिणपन्थी अवसरवाद, अहंकारवाद र विसर्जनवाद विरुद्धको सङ्घर्ष निरन्तर जारी रहने बताएका छन्। उनले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने र कम्युनिष्ट आन्दोलनलाई विसर्जनतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै कार्यकर्ताहरूलाई सचेत गराएका छन्।




