काठमाडौँ- नेपाली कांग्रेसका नेताहरूले पार्टीको १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड दिएका छन्।
बिहीबार धनुषा ३ का क्षेत्रीय सभापति श्यामकुमार निधिको १३ औँ पूण्य तिथिको अवसरमा नगराईनमा आयोजित कार्यक्रममा बोल्दै उनीहरूले १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन पार्टी एकढिक्का हुनुपर्ने बताएका हुन्।
पूर्वउपसभापति प्रकाशमान सिंहले विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधरको भावनालाई बुझेर १५ औँ महाधिवेशन स्वच्छ ढंगबाट गर्नुपर्ने उल्लेख गरे।
जेनजी आन्दोलनपछि मुलुक र पार्टी संकटमा रहेको उल्लेख गर्दै उनले कांग्रेस कार्यकर्ताहरू एकढिक्का हुनुको विकल्प नरहेको बताए।
सिंहले अहिले भइरहेको क्रियाशील सदस्यता अद्यावधिकको आवश्यकता नरहेको बताए। सदस्यता अद्यावधिक गर्नेलाई कांग्रेस र नगराउनेलाई कांग्रेसी नमान्ने मानसिकता उपयुक्त नभएको उनको भनाइ थियो।
पूर्वउपसभापति विमलेन्द्र निधिले पनि १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुको विकल्प नरहेको बताए। उनले कांग्रेसलाई बलियो बनाउन नेता कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिए।
त्यस्तै राष्ट्रियसभा सदस्य एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस पुनः जागरुक हुनुपर्ने अवस्था आएको बताए। मुलुकको राजनीति अहिले सही ढंगबाट अगाडि नबढेको उनको भनाइ छ।
सिटौलाले न्यायपालिका, प्रशासन, सुरक्षा निकाय र संसदका गतिविधिहरू सन्तोषजनक नरहेको बताए। उनले लोकतन्त्र, लोकतान्त्रिक पद्धति, संघीयता र समावेशीताको रक्षाका लागि अझै संघर्ष गर्न आवश्यक रहेको जिकिर गरे।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगाना, पूर्वमहामहामन्त्री महेन्द्र यादव, नेता एनपी साउद, प्रदेशसभा सदस्य रामसरोज यादवलगायतका नेताहरूले धारणा राखेका थिए।




