काठमाडौँ- भारतका चार राज्यहरू पश्चिम बंगाल, असम, केरला र तामिलनाडुमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना सोमबार हुने भएको छ।
भारतीय निर्वाचन आयोगले तय गरेको पूर्वनिर्धारित तालिकाअनुसार नै यी राज्यहरूको चुनावी परिणाम सार्वजनिक गर्न मतगणना सुरु गर्न लागिएको हो।
यी राज्यहरूमा अप्रिल २३ र २९ गरी दुई चरणमा मतदान सम्पन्न भएको थियो। अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भए पनि केही क्षेत्रमा देखिएका विवाद र अनियमिततापछि निर्वाचन आयोगले विशेष निर्देशन जारी गरेको छ।
पश्चिम बंगालको दक्षिण २४ परगना जिल्ला अन्तर्गत पर्ने फाल्टा विधानसभा सिटमा भने निर्वाचन आयोगले पहिले भएको मतदान रद्द गरी पुनः मतदान गराउने निर्णय गरेको छ। त्यहाँ मे २१ मा पुनः मतदान हुनेछ।
अप्रिल २९ मा भएको मतदानका क्रममा ‘लोकतान्त्रि प्रक्रियालाई कमजोर पार्ने गम्भीर चुनावी अनियमितता’ भएको पाइएकाले फाल्टाका सबै २८५ मतदान केन्द्रमा फेरि मतदान गराउन लागिएको हो।
पर्यवेक्षकहरूको प्रतिवेदनअनुसार उक्त क्षेत्रमा मतदातालाई धम्की दिइएको, मतदान केन्द्रमा अनधिकृत व्यक्तिको उपस्थिति रहेको र दुव्र्यवहारका घटनाहरू घटेका थिए।
निर्वाचन आयोगले फाल्टामा हुने पुनः मतदानलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएको छ।



