काठमाडौँ- बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिने क्रम जारी रहे पनि कर्जाको माग सुस्त रहेपछि वाणिज्य बैंकहरूले जेठ महिनाका लागि निक्षेपको ब्याजदर थप घटाएका छन्।
निक्षेप वृद्धिको तुलनामा कर्जा विस्तार निकै कम भएपछि बैंकहरूले आफ्नो कोषको लागत घटाउन पछिल्ला महिनामा निरन्तर ब्याजदर घटाइरहेका छन्।
चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको निजी क्षेत्रको कर्जा ५.७ प्रतिशतले बढेर ५८ खर्ब ९ अर्ब ६६ करोड रुपैयाँ छ। सोही अवधिमा निक्षेप ८.५ प्रतिशतले बढेर ७८ खर्ब ७९ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ।
ब्याज खर्च घटाउन बैंकहरूमाथि दबाब भए तापनि केन्द्रीय बैंकले ‘ब्याजदर करिडोर’ मार्फत बचत निक्षेपको न्यूनतम दर (फ्लोर रेट) तोकिदिएको छ। २.७५ प्रतिशतभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बैंकहरूले केन्द्रीय बैंकको स्थायी निक्षेप सुविधा उपभोग गर्न नपाउने हुनाले बैंकहरूले सो सीमाभन्दा तल झरेर दर घटाउन पाउँदैनन्।
देशका २० वाणिज्य बैंकहरूमध्ये ६ वटाले अघिल्लो महिनाको तुलनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने सिद्धार्थ बैंकले मात्र सामान्य वृद्धि गरेको छ। बाँकी १३ बैंकले भने ब्याजदर स्थिर राखेका छन्।यससँगै, व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर वैशाखको ४.३९ प्रतिशतबाट घटेर जेठमा ४.३४ प्रतिशत कायम भएको छ।
एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपको दर ०.२० प्रतिशत बिन्दुले घटाएर जेठका लागि ४.८ प्रतिशत कायम गरेको छ। राष्ट्रिय वाणिज्य बैंकले आफ्नो अधिकतम दर ४.७५ प्रतिशतमा स्थिर राख्दा एनआइसी एसिया बैंकले ४.७५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा झारेको छ।सबैभन्दा कम ब्याजदर दिनेमा कुमारी बैंक रहेको छ, जसले जेठका लागि ३.९६ प्रतिशत मात्रै ब्याजदर तोकेको छ।
यसैबीच आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा वाणिज्य बैंकहरूको ब्याज आम्दानीमा २.०९ प्रतिशतको सामान्य वृद्धि देखिएको छ। गत वैशाखसम्म बैंकहरूले एक खर्ब ४२ अर्ब ६८ करोड रुपैयाँ ब्याज आम्दानी गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिमा एक खर्ब ३९ अर्ब ७६ करोड रुपैयाँ थियो।




