काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले अहिलेसम्मका आन्दोलनसहित सबै घटनाहरूसँग सम्बन्धित प्रतिवेदन अध्ययन गरेर कार्यान्वयन गर्ने बताएका छन्। नेपाली कांग्रेसका सांसद् अर्जुननरसिंह केसीले मानव अधिकार आयोगको प्रतिवेदन कहिले सार्वजनिक र कारबाही गर्नुहुन्छ भन्दै राखेका प्रश्नमा प्रधानमन्त्री शाहले यस्तो जवाफ दिएका हुन् । केसीले भदौ २३-२४ सम्बन्धी प्रतिवेदनको कार्यान्वयनमा प्रश्न उठाएका हुन् ।
‘मानव अधिकार आयोगले यो आन्दोलनको मात्र होइन धेरै आन्दोलनका रिपोर्टहरू बुझाएको छ । ती सबै रिपोर्टहरू सरकारले अध्ययन गर्छ र कार्यान्वयन गर्छ,’ उनले भने। त्यसअघि एक्कासि जवाफ दिन प्रधानमन्त्री रोष्ट्रममा उभिएका थिए । त्यसमा विपक्षी दलहरू नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले नियमापत्ति गरेका थिए ।
तर, केसीले नियमावलीबाहिर पनि प्रधानमन्त्रीले जवाफ दिन्छु भन्न पाउने बताएका थिए । उनले, प्रधानमन्त्रीले नियमावलीका नियमित प्रक्रियामा भने पुनः भाग लिनुपर्ने अभ्यास सम्झाएका थिए ।




