नवरात्रको पाँचौं दिन आज स्कन्दमाताको पूजा गरिँदै

हिमाल प्रेस २९ असोज २०८३ ६:४८ | Thursday, October 15, 2026
नवरात्रको पाँचौं दिन आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप देवी स्कन्दमाताको विधिपूर्वक पूजा-आराधना गरिँदै छ। पहाडमा बसेर संसारका सम्पूर्ण जीवहरूमा नवचेतना प्रदान गर्ने देवीका रूपमा स्कन्दमातालाई श्रद्धापूर्वक स्मरण गर्ने परम्परा छ ।

कमलको फूलमाथि विराजमान रहने भएकाले पद्मासना देवीका नामले समेत चिनिने स्कन्दमाताको वर्ण सेतो तथा वाहन सिंह रहेको छ । यी देवीका चार हातमध्ये दाहिनेतर्फको माथिल्लो हातले काखमा रहेका सुपुत्र स्कन्दकुमार (कार्तिकेय) लाई सम्हालेको र तल्लो हातमा कमलको फूल सुशोभित छ । देब्रेतर्फको माथिल्लो हात वरमुद्रामा र तल्लो हातमा पनि कमलको फूल रहेको छ। स्कन्दमाताको उपासना गर्दा स्वतः स्वामी कार्तिकेयको समेत उपासना हुने विशेषता रहेको छ । देवी भागवत पुराणका अनुसार सूर्यमण्डलकी अधिष्ठात्री देवी भएकाले यिनको भक्तिपूर्वक पूजाआजा गर्नाले साधकले अलौकिक तेज र कान्ति प्राप्त गर्ने विश्वास गरिन्छ ।

धार्मिक मान्यताअनुसार कठोर तपस्यापछि ब्रह्माजीबाट भगवान् शिवका पुत्रको हातबाट मात्र मृत्यु हुने वर पाएको तारकासुरले तीनै लोकमा आतंक मच्चाएको थियो । त्यसपछि सतीदेवीले हिमालय पुत्री पार्वतीको रूपमा पुनर्जन्म लिई ब्रह्मचारिणी बनेर गरेको कठोर साधनाबाट प्रसन्न भई शिवजीसँग विवाह सम्पन्न भएको थियो। शिव र पार्वतीका सन्तानका रूपमा कुमार कार्तिकेयको जन्म भएपछि उनैले तारकासुरको वध गरी देवताहरूलाई मुक्ति दिलाएको पौराणिक प्रसङ्ग शास्त्रमा उल्लेख छ ।

स्कन्दमाताको उपासनाले भक्तका सम्पूर्ण मनोकामना पूरा हुनुका साथै मोक्ष प्राप्ति हुने र भवसागर पार गर्न कुनै कठिनाइ नहुने विश्वास गरिन्छ । धार्मिक आस्थाका साथै यिनको पूजाले मानसिक शान्ति, पारिवारिक सद्भाव र सामाजिक चुनौतीहरूसँग जुध्ने आत्मबल मिल्ने शास्त्रमा वर्णन गरिएको छ ।

यस दिन भक्तजनहरूले शुद्ध भई हरियो रंगको वस्त्र पहिरिएर उत्तरतर्फ मुख गरी पूजा गर्ने शास्त्रीय मान्यता छ। देवीको प्रतिमा वा कलश स्थापना गरी पञ्चामृत, सेतो वा कमलको फूल, चन्दन, धूप–दीप, अक्षता, नैवेद्य र फलफूल चढाएर पूजा गरिन्छ । त्यसपछि वन्दना श्लोक र माताको स्तोत्र पाठ गर्दै केराको विशेष प्रसाद अर्पण गरी आरती गरेर प्रसाद ग्रहण तथा वितरण गर्ने गरिन्छ ।

 

प्रकाशित: २९ असोज २०८३ ६:४८ | Thursday, October 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast