विधि र प्रक्रियाबमोजिम आएका सबै रिट दर्ता गर्न कामु प्रधानन्यायाधीश मल्लको आदेश

हिमाल प्रेस ४ जेठ २०८३ १४:०५ | Monday, May 18, 2026
विधि र प्रक्रियाबमोजिम आएका सबै रिट दर्ता गर्न कामु प्रधानन्यायाधीश मल्लको आदेश

काठमाडौँ- सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र प्रक्रियबमोजिम दर्ता हुन आएका रिट निवेदन दर्ता गर्न आदेश दिएकी छन्।मल्लले गत वैशाख २३ र २५ गतेलगायतका मितिमा दर्ता हुन आएका रिट निवेदनहरू दर्ता गर्न सोमबार आदेश दिएकी हुन्।

कानुन व्यवसायीले दर्ता गर्न ल्याएको रिट निवेदन दरपिठ गरेको र दरपिठविरुद्ध रिट दर्ता गर्न खोज्दा पनि अदालत प्रशासन नगरेको कानुन व्यवसायीको गुनासोपछि उनले उक्त आदेश दिइन्।

दर्ता भएका सबै रिट निवेदन मंगलबारका लागि पेसी चढाउनसमेत उनले आदेश दिइन्। ‘कानुनले तोकेको विधि र प्रक्रियाबमोजिम अदालतमा दर्ता हुन आएका निवेदनलाई रोक्नु न्याय प्राप्तिको बाटोको अवरोध र अदालतका जनआस्थामाथिको अविश्वास बढाउने व्यवहार एवं प्रयास हुने देखिन्छ’आदेशमा भनिएको छ,‘यस्तो अवस्थामा नेपालको संविधानको धारा १३६, न्याय प्रशासन ऐन, २०७३ को दफा ३५ र सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७ बमोजिम प्रधान न्यायाधीशको हैसियतले आवश्यक निर्देशन एवं आदेश गर्नुपर्ने आवस्थाको विद्यमानता देखियो।’

सर्वोच्च अदालत नियमावलीको नियम ८ को उपनियम (१) को खण्ड (७) बमोजिम अदालतमा दर्ता हुन आएको लिखत दर्ता गर्न वा दर्ता गर्न नमिल्ने देखिएको लिखत दरपिठ गर्ने अधिकार मुख्य रजिष्ट्रारलाई प्राप्त हुने गरेको छ।

मल्लले दिएको आदेशमा नेपालको संविधानको धारा १३६ ले न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधानन्यायाधीशलाई दिएको उल्लेख गर्दै विशेष अवस्था र परिस्थितिमा अदालतको न्याय प्रशासन सञ्चालनमा देखिएको अवरोधलाई सम्बोधन गर्न नेपालको संविधानको धारा १३६ न्याय प्रशासन ऐन, २०७३ को दफा ३५, सर्वोच्च अदालन नियमावली, २०७४ को नियम ७ र ८ को प्रयोग गर्न अत्यावश्यक हुन आएको उल्लेख छ।

प्रकाशित: ४ जेठ २०८३ १४:०५ | Monday, May 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast