काठमाडौँ- सांसदहरुले निजी क्षेत्रको मनोबल उच्च बनाएर मुलुकको अर्थतन्त्रलाई अघि बढाउनुपर्ने सुझाव दिएका छन्।
सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उनीहरुले निजी क्षेत्रको मनोवल अहिले खस्किएको भन्दै मनोवल उच्च बनाएर मुलुकको अर्थतन्त्रलाई अघि बढाउनुपर्ने सुझाव दिएका हुन्। साथै उनीहरुले आगामी बजेटलाई नजितामूखी बनाउन केन्द्रीत गर्नुपर्ने धारणा समेत राखेका छन्।
बैठकमा सांसद लिमा अधिकारीले निजी क्षेत्रको मनोवल उच्च बनाउनसके मात्रै आर्थिक क्षेत्र चलायमान हुने भएकाले यसमा ध्यान दिनुपर्ने र समितिका तर्फबाट पनि सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्। उनले मुलुकको कर प्रणाली सुधारका साथै अर्थतन्त्रको दायरा बढाउने विषयमा पनि विज्ञहरुसँग छलफल गर्नुपर्ने सुझाव दिइन्। वित्तीय सुशासन कायम गर्न निगरानीमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
त्यस्तै सांसद पुष्पराज कँडेलले अत्यावश्यकभन्दा पनि अन्य ठाँउमा स्रोत विनियोजन गर्ने प्रवृत्तिलाई रोक्नुपर्ने बताए। साधन स्रोत बिनियोजनमा हुने दुरुपयोग रोक्नका लागि पनि आगामी दिनमा ध्यान दिनुपर्ने उनले बताए।
त्यस्तै अन्य समिति सदस्यहरुले बजेट विनियोजन पारदर्शी बनाउन समितिले पनि प्रभावकारी रुपमा काम गर्नुपर्ने सुझाव दिएका छन्। बैठकमा समितिको कार्यक्षेत्रका साथै आगामी कामकारबाहीका बारेमा छलफल भएको थियो।




