काठमाडौँ- शिक्षक सेवा आयोगले शैक्षिक सत्र २०८३ का लागि शिक्षक कार्यसम्पादन मूल्यांकन फाराम वैशाख १५ देखि जेठ १३ गतेभित्र अनिवार्य रूपमा दर्ता गरी बुझाउन आग्रह गरेको छ।
शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु हुने भएपछि सोही आधारमा मूल्यांकन प्रक्रिया अघि बढाइएको हो। शिक्षकहरूले निर्धारित ढाँचामा फाराम भरी विद्यालयमा दर्ता गरी प्रधानाध्यापकलाई बुझाउनुपर्नेछ।
निर्देशनअनुसार शिक्षकले फाराम भर्दा सबै विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने, हस्ताक्षर तथा मिति अनिवार्य राख्नुपर्ने र तोकिएको समयभित्र विद्यालयको मूल दर्ता किताबमा दर्ता गर्नुपर्नेछ। ढिला वा अगाडि दर्ता भएका फारामलाई मान्यता नदिइने आयोगले जनाएको छ।
त्यस्तै, प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका लागि फरकफरक रङका फाराम प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। फारामसँग कार्यमूलक अनुसन्धान, विद्यार्थी उपलब्धि तथा विशेष जिम्मेवारीसम्बन्धी विवरणसमेत अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।
प्रधानाध्यापकलाई फारामको विवरण जाँच गर्ने, आवश्यक सुधार गराउने तथा निर्धारित समयभित्र सम्बन्धित निकायमा पठाउने जिम्मेवारी दिइएको छ।
स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई पनि सम्पूर्ण प्रक्रिया समयमै सम्पन्न गराउन समन्वय तथा सहजीकरण गर्न आयोगले निर्देशन दिएको छ।
आयोगले मूल्यांकन प्रक्रियामा त्रुटि नहोस् भनेर आफ्नो वेबसाइटमा उपलब्ध सहजीकरण पुस्तिका अध्ययन गरी सोहीअनुसार काम गर्न समेत आग्रह गरेको छ।




