नेविसंघका नेताहरू पक्राउप्रति कांग्रेसको आपत्ति

हिमाल प्रेस ९ वैशाख २०८३ १४:४९ | Wednesday, April 22, 2026
4
SHARES
नेविसंघका नेताहरू पक्राउप्रति कांग्रेसको आपत्ति कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर

काठमाडौँ– नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य भुवन भट्टसहित विभिन्न विद्यार्थी नेताहरू पक्राउ परेको घटनाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

पक्राउ पर्नेमा विद्यार्थी नेताहरू कुम्भराज देउवा, नवीन विष्ट, आकाश देवकोटा, सुशील ऐडी र विशाल बीसीलगायत छन्। उनीहरूलाई नियन्त्रणमा लिएर थुनामा राखिएको घटनाप्रति कांग्रेसले ध्यानाकर्षण भएको जनाएको हो।

कांग्रेसका प्रवक्ता देवराज चालिसेले बुधबार जारी गरेको वक्तव्यमा लोकतान्त्रिक शासन व्यवस्थामा वाक तथा प्रकाशन स्वतन्त्रता, शान्तिपूर्ण रूपमा हिँडडुल गर्ने अधिकार तथा विरोध वा असहमति व्यक्त गर्ने स्वतन्त्रता नागरिकका मौलिक अधिकार भएको उल्लेख गरिएको छ। यस्ता अधिकार संरक्षण गर्नु राज्यको संवैधानिक तथा नैतिक दायित्व भएको पनि वक्तव्यमा जनाइएको छ।

वक्तव्यमा यस्ता अधिकारको प्रयोगका क्रममा नागरिकलाई पक्राउ गरी थुनामा राख्ने कार्यले लोकतन्त्रको आधारभूत मूल्य, विधिको शासन तथा नागरिक स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको उल्लेख छ। साथै असहमतिलाई नियन्त्रण गर्ने र दमन गर्ने सरकारको शैली लोकतान्त्रिक मान्यता तथा संविधानको मर्मविपरीत भएको कांग्रेसको ठहर छ।

कांग्रेसले पक्राउ परेका नेविसंघका नेताहरूलाई बिनासर्त तत्काल रिहा गर्न र भविष्यमा नागरिकको मौलिक अधिकारमाथि अतिक्रमण नगर्न सरकारसँग माग गरेको छ।

प्रकाशित: ९ वैशाख २०८३ १४:४९ | Wednesday, April 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast