सिन्धुपाल्चोक- इन्द्रावती गाउँपालिका-११ भिमटारका बाटुले माझी ४५ वर्षको भए। उनको माछा मार्ने पुर्ख्यौली पेसा अहिले संकटमा परेको छ। पछिल्लो समय अव्यवस्थित क्रसर उद्योग, विषादी, विस्फोटक पदार्थको प्रयोग बढेसँगै नदीमा पर्याप्त मात्रामा माछा पाइनै छाडेपछि उनको पेसा संकटमा परेको हो।
भिमटारकै पदमबहादुर माझीले आठ वर्षको उमेरदेखि माछा मार्दै आएका छन्। त्यति बेला जता जाल हान्यो उतै माछा पर्ने गरेको अझै बिर्सिएका छैनन्। तर हिजोआज दिनभर जाल घिसार्दा पनि आधा पाउ माछा नभेटिने उनको अनुभव छ।
इन्द्रावती नदीमा माछा मारेरै जीविका चलाइरहेएका नवराज माझीले माछा पाइन छाडेपनि नदी धाउन छाडेका छैनन्। तर विस्तारै नदी धाउने काम उपलब्धीमूलक हुन छाडेको छ।
दोलालघाटदेखि मेलम्चीसम्म २४ भन्दा बढी क्रसर उद्योग सञ्चालनमा छन्। क्रसरले दैनिक गिट्टी, बालुवा उत्खनन गर्दा खोलाको धार नै परिवर्तन भइरहेको छ। पहिले खोलामा लेउ, झ्याउ हुन्थ्यो, माछाले त्यही खाएर बाँच्थ्यो। अब क्रसरले ती ठाउँ नै मासिदिएकाले माछा पाउन छाडेको अनुभव माझी समुदायलाई छ।
वातावरण विभागले विगतमा गरेको एक अध्ययनले पनि मध्यम तथा साना खोलामा माछाको प्रजनन दरमा ३० प्रतिशतले कमी आएको देखाएको छ।
माछा मारेर जीविका चलाउने भिमटारका चार परिवार गाउँ छाडेर गइसकेका छन्। चौबीसै घण्टा चल्ने क्रसरको आवाजले माझी समुदायको जिन्दगी नै इन्द्रावतीको पानीझैँ धमिलो बनाइरहेको छ।
पहिले उनीहरूले बनाएका डुंगा, खोगा, ढडिया अहिले थन्किएको स्थानीय साइली माझी बताउँछिन्। यसले उनीहरुको जीविका मात्र होइन परम्परागत पेसा, नदी संस्कृति र माझी समुदायको पुर्ख्यौली पेसा नै संकटमा परेको हो।
संघीय र स्थानीय सरकारले विकास र आन्तरिक आम्दानीका नाममा वातावरणीय सन्तुलनलाई बिर्सिएको माझी समुदायको गुनासो छ।




