काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ । अलकत्राको अभावमा रोकीएको काम पुनः गर्न लागिएको हो। यसअघि १३ किलोमिटर सडक कालोपत्र भइसकेको छ। नागढुंगा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार हुग्दीदेखि जवाङ खोलासम्म कालोपत्रेको तयारी सुरु गरिएको छ ।
उनले भने, ‘३० टन अलकत्रा आइसकेको छ। यही ५ गतेबाट कालोपत्रेको काम सुरु हुन्छ।’ तत्काल सो ठाउँमा ७०० मिटर सडक कालोपत्र गरिने छ भने असार महिनामा तीन किलोमिटर सडक कालोपत्रे गर्ने योजना छ। सो खण्डमा रहेका छ वटा पुलमध्ये चार वटाको काम अन्तिम चरणमा पुगेको छ । वारवाङ, मौवा, खटौटी र गोमती खोलाको पुलको काम थोरै मात्र बाँकी छ । ती पुलको सडकसँग जोड्ने बाटो कालोपत्रलगायतका काम बाँकी छ ।
सडक निर्माणको काम ४३ प्रतिशत सम्पन्न भएको छ । सो खण्डमा ३८ दशमलव ८६ किलोमिटर सडक पर्दछ । शर्मा–जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो। सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो । काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ । गएको डिसेम्बर २८ मा निर्माणको म्याद सकिएपछि १८३ दिन थप गरिएको छ।




