फाइल तस्बिर
काठमाडाैँ – पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डको तेस्रो प्याकेज मुग्लिन-मलेखु सडक सम्झौताको समय सकिएको एक वर्ष पुग्दासमेत आधा काम हुन सकेको छैन।
गत पुस १५ गते सक्नेगरी त्यसको तीन वर्ष अघि २०७९ पुस १५ गते सडक विस्तारको ठेक्का लगाइएको थियो।
दुई पटक म्याद थप गर्दासमेत हालसम्म भुक्तानी प्रगति ४६ प्रतिशत मात्र भएको छ। आयोजनाको तेस्रो प्याकेजका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार भौतिक प्रगति ४८ प्रतिशत हाराहारी भएको छ।
उनका अनुसार पहिलोपटक थप गरिएको १८३ दिनको म्याद सकिएर पुनः दोस्रो पटक २१० दिन थप गरिएको छ। यो समयमा पनि काम नसकिने भएपछि म्याद थप्नुपर्ने भएको छ।
करिब ९५ किलोमिटर दूरी रहेको त्यस राजमार्गलाई पहिलो प्याकेजमा नागढुङ्गा-नौबिसे, दोस्रोमा नौबिसे-मलेखु र तेस्रोमा मलेखु-मुग्लिन गरी खण्डमा छुट्याइएर स्तरोन्नतिको काम अघि बढाइएको थियो।
तेस्रो प्याकेजअन्तर्गतको नागढुङ्गा-मुग्लिन सडक ३८ दशमलव ८६ किलोमिटर लामो छ। मिश्रका अनुसार हालसम्म १५ किलोमिटर कालोपत्र सम्पन्न भएको छ। तीन किलोमिटर बेस राखेर कालोपत्रको तयारी गरिएको छ। अरु पाँच किलोमिटरमा सववेस राखिएको छ।
सो खण्डमा रहेका छ वटा पुलमध्ये चार वटाको काम अन्तिम चरणमा पुगेको छ। बारवाङ, मौवा, गौमती र खटौती पुलको आंशिक काममात्र बाँकी छ।
ती पुल र सडक जोड्ने ठाउँमा कालोपत्रमात्र बाँकी रहेको उनले जानकारी दिए। अरु दुईवटा पुलको पिल्लरसम्मको काम सकिएको छ। ती दुई पुल हुग्दी र चरौदीको बिम र त्यसभन्दा माथिको काम बाँकी छ। भित्तो काट्ने काम कुरिनटार र मुग्लिनको बीचभागमा केही बाँकी छ। तीन किलोमिटर हाराहारी नाला बनाउन बाँकी छ। अरु सबै कालोपत्रको काम बाँकी रहेको छ।
मिश्रका अनुसार सडक क्षेत्रमा रहेका घर, रुख र पोल स्थानान्तरणसहित नक्साङ्कनमा परिवर्तन हुँदा काममा ढिलाइ भएको हो। अब ती सबै समस्या समाधान भएकाले निर्माण कम्पनीका तर्फबाट तीव्र गतिमा काम हुने अपेक्षा गरिएको छ।
यसअघि समय समयमा निर्माण सामग्री नपाउँदा समस्या हुने गरेको थियो। पछिल्लो समय बिटुमिनको अभावले पनि काममा ढिलाइ बनाएको उनले जानकारी दिए।
निर्माण कम्पनीका सहदेव खड्काका अनुसार समयमा नक्सा नआउँदा काममा ढिलाइ भएको हो। उनका अनुसार नक्सा परिवर्तन भएर ठेक्का लागेको नौ महिनापछि मात्र निर्माण कम्पनीले पाएको थियो।
यस्तै समय समयमा आएको बाढी पहिरोका कारण पुनः नक्सा परिवर्तन भएर आउनुपर्ने हुन्छ।
नक्सासँगै बाढी, पहिरो, सडकमा रहेका घर टहरा हट्न समय लागेको, बिजुलीको पोल सार्न र रुख काट्न समय लागेकाले सम्झौताको मितिमा काम गर्न नसकिएको हो।
उनले समयमा नक्सा प्राप्त भएर निर्माण सामग्री पाएमा अबको एक वर्ष ६ महिनाभित्रमा काम सकिने बताए। खड्काका अनुसार यो सडकमा निर्माण सामग्रीको अभाव र अलकत्रा पाउन नसक्दा पनि काममा ढिलाइ भएको हो।
कूल चार अर्ब ८० करोड ५९ लाख रुपैयाँको लागतमा काम सम्पन्न गर्ने प्रतिबद्धताका साथ शर्मा-जेडआईसीजीले निर्माणको जिम्मा पाएको थियो।
विश्व बैंकको सहुलियतपूर्ण ऋणमा अघि बढेको आयोजना राजधानी प्रवेश र बाहिरिने सवारीसाधनको उच्च चाप रहेको छ। त्यस सडक हुँदै दैनिक १५ हजार हाराहारी सवारीसाधन आवतजावत गर्ने अनुमान छ।
सडक स्तरोन्नति भएसँगै राजधानी प्रवेश र बाहिरिने यात्रुले अहिले पाइरहेको हैरानीबाट मुक्त हुनेछन्।



