काठमाडौँले चितवन राइनोजलाई दियो १ सय ४३ रनको लक्ष्य

हिमाल प्रेस १२ मंसिर २०८२ १३:३९ | Friday, November 28, 2025
काठमाडौँले चितवन राइनोजलाई दियो १ सय ४३ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई जितका लागि १ सय ४३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौँ २ बल अगावै १ सय ४२ रन बनाउँदा अलआउट भयो।

चौथो विकेटका लागि जोन सिमसन र मिलिन्द कुमारले ९८ रनको साझेदारी गरेपछि काठमाडौँले सम्मानजनक योगफल तयार पार्न उन्मुख थियो। यद्यपि रवि बोपाराले यी दुईको साझेदारी तोडेपछि काठमाडौँको लगातार विकेट पतन भयो।

१६ औँ ओभरको अन्तिम बलमा मिलिन्द कुमार ३८ रन बनाउँदा रवि बोपारको बलमा बोल्ड आउट भए। मिलिन्दले ४३ बलमा ५ चौका प्रहार गरे। १७औँ ओभरको पहिलो बलमा जोन ६० रन बनाउँदा कमल सिंह ऐरिको बलमा सैफ जैवको हातबाट क्याच आउट भए। जोनले २९ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका थिए।

काठमाडौँ एक समय ४.२ ओभरमा ३-२४ को अवस्थामा थियो। त्यसपछि क्रिजमा आएका जोन र मिलिन्दले इनिङ्स उकासेका थिए। काठमाडौँले ११ रन जोड्न ६ विकेट गुमायो। ओपनर वेन चाल्र्सवर्थ १४ बलमा २ चौका सहयोगमा १३ रन बनाउँदा सोहेल तनवीरको बलमा रवि बोपाराको हातबाट क्याच आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

चितवनका लागि सोहेल तनवीरले ४ विकेट लिए। सोहेलले १८औँ ओभरमा लगातार तीन विकेट लिएपछि काठमाडौँको ब्याटिङ लाइन धरापमा पर्‍याे। सोहेलले आफ्नो स्पेलमा २५ रन खर्चे। रन्जित कुमार र कमल सिंह ऐरिले समान २ विकेट झारे। रवि वोपाराले एक विकेट लिए। चितवनले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रकाशित: १२ मंसिर २०८२ १३:३९ | Friday, November 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast