काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षामा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी ‘विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (STEAM)’ विषयमा विश्वविद्यालयस्तरीय प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्न आवेदन आह्वान गरेको छ।
मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराई STEAM सामग्री निर्माण गराउने उद्देश्यले सूचना प्रकाशित गरेको हो। यस वर्षको प्रतिस्पर्धाको विषय कार्यविधिको अनुसूची–५ मा उल्लिखित Terms of Reference (T.O.R.) अनुसार निर्धारण गरिएको छ।
प्रतियोगिताको पहिलो चरणमा विश्वविद्यालय वा सम्बन्धन प्राप्त क्याम्पस, कलेज वा महाविद्यालयमा अध्ययनरत विद्यार्थी वा विद्यार्थी समूहबाट निवेदन माग गरिनेछ। प्राप्त निवेदनबाट योग्य समूहलाई दोस्रो चरणका लागि छनोट गरिनेछ र चयनित समूहले आफ्नो कल्पना अनुसारको वस्तु निर्माण गर्न पाँच महिनाको समय पाउनेछ।
दोस्रो चरणमा छनोट भएका विद्यार्थी समूहलाई ‘विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला, गणित (STEAM) विषयमा विश्वविद्यालयस्तरीय प्रतियोगितात्मक कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८२’ बमोजिमप्रति सामाग्री अधिकतम एक लाख पचास हजार रुपैयाँसम्म सहयोग प्रदान गरिनेछ।
प्रतिस्पर्धामा सहभागी हुन इच्छुक विद्यार्थीहरूले कार्यविधिको अनुसूची–२ को खण्ड (क) र (ख) बमोजिम आवश्यक सबै कागजात प्रमाणित गरी स्क्यान गरेर innovation@moest.gov.np मा मंसिर ७ गते (२०८२/०८/०७) भित्र पठाउनुपर्नेछ। 



