
काठमाडौँ- सरकारको नेतृत्व गरेको एमाले उल्टो यात्रातर्फ हिँडेको छ। जनतालाई सरकारको अनुभूति हुने गरी काम गर्न छाडेर एमाले राजतन्त्रको विरोधमा सडक आन्दोलनमा संलग्न हुन लागेको हो। राजतन्त्र समर्थकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा पुनर्स्थापना गर्नुपर्ने माग गरेका छन्। यसअघि प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा शाहले दिएको अभिव्यक्ति र फागुन २५ मा काठमाडौँमा गरिएको स्वागतले राजावादी हौसिएका छन्।
यति बेला राजनीतिक वृत्तमा राजतन्त्रवादी र लोकतन्त्रवादीबीच वाक्युद्ध चलिरहेको छ। कतिपयले त पूर्वराजा गद्दीमै फर्किने दाबी गरिरहेका छन्। राजावादीको चहलपहल बढेपछि गणतन्त्रवादीहरूका तर्फबाट खबरदारी गर्ने क्रम पनि जारी छ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी (नेसपा)सहितका दलको समाजवादी मोर्चाले राजतन्त्रविरुद्ध काउन्टरमा उत्रने बताइरहेका छन्। सत्तारुढ एमालेले भने जिल्ला स्तरदेखि केन्द्रसम्मका आन्दोलनका कार्यक्रम गर्ने तयारीमा छ। जिल्लास्तरीय जागरण सभा आयोजना गर्ने, बागमतीबाहेकका छवटै प्रदेशका धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने कार्यक्रमको तय भएको एमालेका महासचिव शंकर पोखरेलले बताए।
पोखरेलका अनुसार प्रदेश तहमा हुने विशेष सभामा पार्टी केन्द्रबाट वक्ता पठाइनेछ भने जिल्ला तहको सभाका लागि आवश्यक परेका ठाउँमा त्यस्तो व्यवस्था गरिनेछ। पोखरेलले जनचेतना अभियान तथ्यका आधारमा सञ्चालन गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।
जानकारहरूका अनुसार सरकार कार्यसम्पादनमा चुक्दा जनतामा असन्तुष्टि चुलिएको छ। लोकतन्त्र आएपछि बनेका सरकारले नागरिकको भावना कदर नगरेको बुझाइ विश्लेषकहरूको छ।
एमालेको आन्दोलनका कार्यक्रम सार्वजनिक भएपछि राजावादी दलले व्यंग्य गरेका छन्। ‘नेताले गद्दारी गरेकै कारण मुलुक यो स्थितिमा पुगेको छ। यही कारण प्रणाली फेर्नु आवश्यक छ,’ राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला भन्छन्, ‘सरकार जबाफदेही नभएकै कारण देशमा युवा बहिर्गमन गर्दैछन् भने आर्थिक संकट धराशयी बनेको छ।’
बर्तौला कमजोर जगमा बनेको कमजोर आत्मबल भएको सरकार भएकाले आन्दोलनमा गएको दाबी गर्छन्। ‘गणतन्त्रको जग कमजोर छ, शासकहरुको आत्मबल अत्यन्तै कमजोर भयो’, उनले भने।
प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट विभिन्न काण्डमा मुछिएका नेतालाई वर्तमान सरकारले ‘धुँदा’ लोकतन्त्रमा मैलो लागेको आरोप लगाएका छन्। सरकारले आन्दोलन गर्ने हो? यो चासोको विषय बनेको छ।।
‘सरकारले काम गर्ने हो। नागरिकको आवश्यकता पूर्ति गर्ने हो,’ माओवादीका महासचिव देव गुरुङ भन्छन्, ‘नागरिकका समस्या के छन् सरकारले बुझ्न सक्नुपर्छ। यसको उल्टो बाटोमा जानु गलत हो।’ गुरुङ सरकारमा भएको दल आन्दोलनमा जाने परिपाटी नरहेको दाबी गर्छन्।
‘सरकारले नागरिकलाई सुविधा दिने हो। केमा समस्या भएर सडक तातेको छ। त्यसलाई ख्याल गर्नुपर्छ,’ गुरुङ भन्छन्, ‘आवाज कार्यान्वयन गर्ने हो आन्दोलन गर्ने होइन।’ गुरुङ आफूहरू प्रतिपक्षी रहेकाले सरकारलाई खबरदारी गरिरहेको तर सरकारले नसुनेको गुनासो गर्छन्। ‘हामी प्रतिपक्षमा छौँ। हामी सरकारलाई घचघच्याउने काम गरिरहेका छौँ तर सरकार सुनिरहेको छैन’, उनले भने।
राजनीतिक विश्लेषकहरू पनि एमालेले आन्दोलनमा उत्रने काम गलत भएको बताइरहेका छन्। विश्लेषक डम्बर खतिवडा एमाले उल्टो काममा लागेको बताउँछन्।
एमाले केन्द्रीय सचिवालयको चैत ४ गते बसेको ४६औँ बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिप्रति गम्भीर रूपमा छलफल गरी पार्टी नेपालको संविधान र यसले संस्थागत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धि रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प गरेको थियो।
‘हामीले सरकारले गरेका काम जनतालाई सुनाउन कार्यक्रम गर्न लागेका हौँ,’ एमाले सचिव छविलाल विश्वकर्मा भन्छन्, ‘हाम्रो व्यवस्थाको जगमा भएका कामको जनता/कार्यकर्तालाई सुनाउनु अधिकार हो। संघीयताका उपलब्धिलाई जनतामा पुनजागृत गर्ने कार्यक्रम गर्न लागिएको हो।’
विश्वकर्माका अनुसार संविधान र लोकतन्त्रविपरीतका तत्त्वहरू बढेका कारण जनतालाई सुसूचित गर्न सचेतना कार्यक्रम राख्न पार्टीले निर्णय गरेको हो। ‘हामीले यति काम गरेका छौँ भनेर भ्रम तोड्नुपर्छ। अहिले व्यवस्था विरोधीले भ्रम छरेकाले हामी भ्रम तोड्न चाहन्छौँ’, विश्वकर्माले भने।
राप्रपा प्रवक्ता एवम् सांसद ज्ञानेन्द्र शाहीले आन्दोलनको आन्दोलनको औचित्यबारे प्रश्न गरेका छन्। ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू ,आफैँ सरकारमा आफैँ आन्दोलन गर्ने?ऽ’ उनले भनेका छन्, ‘आन्दोलनचाहिँ कसका लागि गर्ने? स्वर्गबाट मदन भण्डारीले यस्तो हरिबिजोग देख्नुभयो भने के भन्नुहोला?’