एआईको जोखिम बढ्दो : जेमिनाईले गर्‍यो तीन कम्पनी ह्याक

हिमाल प्रेस ३ असोज २०८३ १७:४८ | Saturday, September 19, 2026
एआईको जोखिम बढ्दो : जेमिनाईले गर्‍यो तीन कम्पनी ह्याक

साइबर सुरक्षा परीक्षणका क्रममा गुगलको जेमिनाई एआईले इन्टरनेटमा पहुँच पाएपछि विभिन्न कम्पनीमा ‘ह्याक’ गरेको खुलेको छ। प्रविधि क्षेत्रका प्रतिस्पर्धी कम्पनी ओपनएआई र एन्थ्रोपिकमा यस्तै उच्च प्रोफाइलका सुरक्षा घटना सार्वजनिक भएपछि गुगलमा पनि यस्तो घटना भएको हो।

घटना मे महिनामा गरिएका परीक्षणका क्रममा भएको हो। परीक्षण गर्ने संस्था इर्रेगुलर एआई सुरक्षा कम्पनी हो, जसले एन्थ्रोपिक, मेटा र ओपनएआईसँग काम गर्दै आएको छ।

इर्रेगुलरका अनुसार उसले गुगलको जेमिनाई परिवारअन्तर्गतको एउटा मोडलको निर्दिष्ट नगरिएको संस्करणका लागि विभिन्न परीक्षण तयार गरेको थियो। उक्त मोडललाई काल्पनिक कम्पनीभित्र रहेको डेटा प्राप्त गर्ने जिम्मेवारी दिइएको थियो। तर परीक्षणका क्रममा उसलाई इन्टरनेटमा पहुँच दिने उद्देश्य थिएन।

जेमिनाइका एआई एजेन्टले अनलाइन पहुँच पाएपछि तीनवटा कम्पनीका पासवर्ड अनुमान गर्न वा खोज्न सफल भए। ती कम्पनीका नाम परीक्षणका क्रममा प्रयोग गरिएका काल्पनिक कम्पनीसँग मिल्दोजुल्दो थिए। त्यसपछि एआई एजेन्टले ती कम्पनीमा प्रवेशसमेत गरे। यद्यपि ती कम्पनी वास्तविक भएको थाहा पाएपछि एआई एजेन्टले ह्याकिङ रोकिदिए।

गुगलकी सुरक्षा इन्जिनियरिङ उपाध्यक्ष हेदर एडकिन्सले भनिन्, ‘हामीले ती तीनवटै संस्थालाई घटनाबारे जानकारी गरायौँ र हाम्रो प्रशिक्षण साझेदारसँग मिलेर उनीहरूले परीक्षण प्रक्रियामा गरेका परिवर्तनमा काम गर्‍यौँ।’

उनले भनिन्, ‘ती तीनवटै घटनामा मोडल आफैँ रोकियो। यी घटनाले शक्तिशाली एआई मोडललाई जिम्मेवार ढंगले काम गर्न प्रशिक्षित गर्नु कति महत्त्वपूर्ण छ भन्ने देखाउँछन्।’

द वाल स्ट्रिट जर्नलले पहिलोपटक सार्वजनिक गरेको उक्त घटनालाई गुगलले आफैँ सार्वजनिक नगरेको बताएको छ। गुगलका अनुसार आफ्ना सुरक्षा उपाय प्रभावकारी भएकाले घटना सार्वजनिक नगरिएको हो।

इर्रेगुलरले भनेको छ, ‘सम्बन्धित सबै एआई प्रयोगशालालाई जुलाईको अन्त्यतिर जानकारी गराइएको थियो र अनुसन्धानका क्रममा प्रभावित संस्थाहरूसँग सम्पर्क गरिएको थियो। हाम्रोतर्फबाट पहिचान भएका सबै समस्या केही साताअघि नै समाधान भइसकेका छन्।’

एआईले स्वायत्त रूपमा साइबर आक्रमण गर्न सक्ने क्षमताबारे चिन्ता पछिल्लो समय बढ्दै गएको छ। ओपनएआईका एक हजारभन्दा बढी एआई एजेन्ट परीक्षण वातावरणबाट बाहिर निस्किएर गोप्य सन्देश बोर्डमार्फत समन्वय गर्दै हगिङ फेसमा साइबर हमला गरेपछि यस्तो चिन्ता थप बढेको हो। हगिङ फेस खुला स्रोतका एआई मोडल र डेटा होस्ट गर्ने स्टार्टअप हो, जसलाई एनभिडियाले १३ अर्ब अमेरिकी डलरमा खरिद गर्न सहमति जनाएको छ।

ओपनएआईले उक्त आक्रमण भएको एक सातापछि मात्रै पत्ता लगाएको थियो। जुलाईमा भएको घटनाबारे सार्वजनिक जानकारी दिन पनि ढिलाइ गरेको थियो। घटनाले नियन्त्रणबाहिर रहेका स्वायत्त एआई एजेन्टबाट उत्पन्न हुन सक्ने जोखिमबारे सार्वजनिक चिन्ता बढाएको थियो। त्यसपछि अग्रपंक्तिका एआई कम्पनीहरूले नयाँ मोडल सार्वजनिक गर्ने गति कम गर्न, सुरक्षा उपाय बलियो बनाउन र कडा नियमन स्वीकार गर्नुपर्ने मागसमेत उठेको थियो।

सोही महिना एन्थ्रोपिकले पनि आफ्नो क्लाउड एआई मोडलले साइबर क्षमता परीक्षणका क्रममा तीनवटा संस्थामा ह्याक गरेको स्वीकार गरेको थियो। त्यहाँ पनि ‘गलत बुझाइ’ का कारण क्लाउडलाई इन्टरनेटमा पहुँच प्राप्त भएको थियो।

गुगलको मूल कम्पनी अल्फाबेटका प्रमुख वैज्ञानिक तथा डिपमाइन्डका सहसंस्थापक डेमिस हसाबिसले एआईलाई थप प्रभावकारी रूपमा नियन्त्रण गर्न अन्तर्राष्ट्रिय निगरानी निकाय गठन गर्नुपर्ने प्रस्ताव गरेका छन्। उनले एन्थ्रोपिकका डारियो अमोडेईलगायत अन्य एआई नेताहरूले हालै अघि सारेका अनुसन्धानको गति सामूहिक रूपमा कम गर्ने, डेटा साझेदारी गर्ने, सुरक्षाका विषयमा समन्वय गर्ने तथा एआईसम्बन्धी घटनाको रिपोर्टिङका मापदण्डमा सहमति गर्ने आह्वानलाई पनि समर्थन गरेका छन्। फाइनान्सियल टाइम्सबाट

प्रकाशित: ३ असोज २०८३ १७:४८ | Saturday, September 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast