गण्डकीमा डढेलोको बढ्यो खतरा

हिमाल प्रेस ८ चैत २०८१ ६:२२
10
SHARES
गण्डकीमा डढेलोको बढ्यो खतरा वन क्षेत्रमा लागेको डढेलो। फाइल तस्बिर।

पोखरा- गण्डकी प्रदेशमा गत वर्ष चार सय ६७ स्थानमा डढेलो लागेको थियो। प्रदेश वन निर्देशनालयका अनुसार करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको थियो। सुक्खायाम सुरु भएसँगै यस वर्ष पनि डढेलोको जोखिम बढेको छ। सामन्यतयाः फागुनदेखि जेठसम्मको समयलाई डढेलोको याम भनेर चिनिन्छ।

मुख्यगरी चैत र वैशाखमा डढेलोका घटना बढी हुने गरेको निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले बताए। सुक्खायाम लम्बिँदा डढेलोको जोखिम पनि बढ्दै जाने उनको भनाइ छ। आगलागी नियन्त्रण हुन नसकी डढेलोको रूप लिँदा वन विनास मात्र नभएर धनजनको समेत क्षति हुने गरेको छ। घरगोठ र पशुधनको क्षतिले ग्रामीण भेगका किसान मारमा परेका छन्। डढेलोले वन क्षेत्रमा हुने बोटबिरूवा, वन्यजन्तु, काठ र दाउराको क्षति भने आकलन नै गर्न नसकिने वन अधिकृत थापाले बताए।

‘डढेलोले वन क्षेत्रमा बर्सेनि ठूलो नोक्सानी भइरहेको हुन्छ, डढेलो अनियन्त्रित भएर मानव बस्तीतिर सर्दा पनि धनजनको समेत क्षति हुन्छ’, उनले भने। डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पुर्‍याइरहेको वन अधिकृत थापाले बताए। गर्मीयाममा वनमा हुने पातपतिङ्गर र घाँसदाउरा बढी प्रज्ज्वलनशील हुनेहुँदा डढेलो छिटो फैलने गरेको उनको भनाइ छ।

हिउँदे वर्षा नहुनु, बतासको यामजस्ता कारणले पनि डढेलोले प्रश्रय पाउने गरेको वन अधिकृत थापाले बताए। मानवीय कारणले नै डढेलो लाग्ने गरेको उनको भनाइ छ। अन्ठाउन्न प्रतिशत जानीजानी, २२ प्रतिशत लापरवाही र २० प्रतिशत डढेलो दुर्घटनावश लाग्ने गरेको विभिन्न अध्ययनले देखाएको विज्ञहरू बताउँछन्। पछिल्लो समय वन व्यवस्थापनका क्रियाकलाप घट्दा पनि डढेलोको जोखिम बढिरहेको बताइन्छ।

आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछ भनेर व्यक्तिले जानजानी आगो लगाउँदा त्यो अनियन्त्रित भई डढेलोको रूप लिने गरेको छ। वन डेढेलोले जैविक विविधतामा ह्रास ल्याउनुका साथै वातावरणीय प्रदूषण निम्त्याउने वन अधिकृत थापाले बताए। डढेलो लाग्दा हुने कार्बन उत्सर्जनले जलवायु परिवर्तनमासमेत भूमिका खेलिरहेको उनको भनाइ छ। डढेलोले माटोको प्राङ्गारिक तत्व नष्ट हुने, वन्यजन्तुको बासस्थान नासिनेलगायत समस्या निम्तने गरेको छ।

डढेलोले भूक्षय, बाढीजस्ता प्राकृतिक विपद्का घटना पनि बढाउने विज्ञहरूको भनाइ छ। बर्सेनि बढिरहेको डढेलोको प्रकोप नियन्त्रणका लागि राज्यले पर्याप्त जनशक्ति, उपकरण र स्रोतसाधनको प्रबन्ध गर्नुपर्ने माग जनस्तरबाट उठ्दै आएको छ। डढेलो लगाउने व्यक्तिलाई कानुनबाट दण्डित गर्ने गरिए पनि यसमा कमी आउन सकेको छैन।

बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले कानुनको प्रभावभारी कार्यान्वयनका लागि जनचेतना अभिवृद्धि गर्नुपर्ने बताए। ‘डढेलो लगाउने व्यक्तिका बारेमा सूचना दिने व्यक्तिलाई उसले बुझाएको जरिवानाको १० प्रतिशत पुरस्कार पाउने व्यवस्था छ’, प्रजिअ सुवेदीले भने, ‘दोषीलाई तीन वर्षको जेल, रु ६० हजारसम्म जरिवाना या दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।’

डढेलो नियन्त्रणका लागि जिल्ला र स्थानीय तहमा रहेका डिभिजन वन र सबडिभिजन वन कार्यालयअन्तर्गत डढेलो नियन्त्रण सञ्जाल क्रियाशील रहेका छन्। वन कार्यालयले सुरक्षा निकाय, स्वयंसेवक र स्थानीय जनसमुदायसँग मिलेर डढेलो नियन्त्रणका काम गर्दै आएको निर्देशनालयले जनाएको छ। डढेलोले निजी, सामुदायिक र राष्ट्रिय वन क्षेत्रका बोटबिरूवा र बुट्यान सखाप पार्ने गरेको उनको भनाइ छ। वन अधिकृत थापाले विद्यालय तहदेखि नै डढेलो नियन्त्रण र वन संरक्षण सीपबारे बालबालिकालाई पढाउनुपर्ने बताए।

प्रकाशित: ८ चैत २०८१ ६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast