काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सम्भावित भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै मौसम विज्ञान विभाग पुगेर पछिल्लो पूर्वानुमानबारे जानकारी लिएका छन्।
दुवै मन्त्रीले असोज ८, ९ र १० गतेसम्म रहने मौसमीय अवस्थाको अपडेट लिँदै सम्बन्धित निकायलाई पूर्वतयारी र सतर्कता प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
विभाग सूचना जारी गर्दै असोज ९ देखि ११ गतेसम्म विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो।
विभागका अनुसार उक्त अवधिमा नदी तथा खोलामा पानीको सतह बढ्ने, आकस्मिक बाढी, पहिरो र डुबानको जोखिम रहने सम्भावना छ। वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले यात्रा गर्नुअघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन पनि अनुरोध गरिएको छ।
मन्त्रालयले नदी किनार, पहिरोको जोखिम भएका भूभाग, भिरालो जमिन तथा डुबान हुन सक्ने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। जोखिमको संकेत देखिएमा समयमै सुरक्षित स्थानमा सर्न तथा स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गर्न पनि भनिएको छ।
अत्यावश्यक अवस्थाबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती र बिरामीको सुरक्षामा विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ। पशुचौपाया, खाद्यान्न, औषधि, महत्वपूर्ण कागजात तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न पनि अनुरोध गरिएको छ।
प्रदेश सरकारका सम्बन्धित निकाय, स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई आवश्यक पूर्वतयारीसहित सतर्क अवस्थामा रहन तथा जोखिममा रहेका नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी मिलाउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।


