खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जलेर नष्ट

हिमाल प्रेस ४ चैत २०८१ २१:३२ | Monday, March 17, 2025
खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जलेर नष्ट

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका-२ मा सामुदायिक वनको डढेलो गाउँ पस्दा एक सामुदायिक विद्यालयसहित सात घर जलेर नष्ट भएको छ। स्थानीय बाल्छीखोला सामुदायिक वनमा लागेको डढेलो वस्तीमा प्रवेश गर्दा डिकुवास्थित छुम्पाङ, बाघखोर, च्यानटार, पाँचभैयाटार र लाङमाका सात घर जलेर पूर्णरूपमा नष्ट भएका हुन्।

स्थानीय अडमे राई, नगेन्द्र राई, हीराशेर राई, पिर्तिबहादुर राई, रणबहादुर राई,  अविन्द्र राई र हीराधन राईको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। घटनाको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

सोही डढेलोले बालकन्या आधारभूत विद्यालयमा समेत क्षति पुगेको स्थानीयवासी घनश्याम राईले जानकारी दिए। कक्षा ५ सम्म पढाइ हुने विद्यालयको काठबाट बनाइएको दुई कोठे भवन डढेलोले जलेर नष्ट भएको हो।

डढेलो गाउँ पसेर क्षति गर्न थालेपछि निभाउने प्रयास भइरहेको सो वडाका वडाध्यक्ष देवेन्द्र राईले जानकारी दिए। ‘गाउँ पसेको डढेलो निभाउन स्थानीयवासी, नेपाली सेना, सशस्त्र तथा जनपथ प्रहरी खटिएका छन्,’ उनले भने, ‘डढेलो लागेको ठाउँ सुख्खाग्रस्त क्षेत्रमा पर्छ। आगो निभाउन पानी छैन। घरमा लागेको आगो समयमा निभाउन नसक्दा ठूलो क्षति भएको छ।’

दाम्लीको नबेल्खा जंगलमा आइतबारदेखि सुरु भएको डढेलोले डिकुवाका अन्य घरहरूमा समेत क्षति पुग्ने सम्भावना रहेको स्थानीयको भनाइ छ। दिक्तेलस्थित रणभीम गण मुडे ब्यारेकबाट खटिएका नेपाली सेनाले अग्नीरेखा निर्माण गरिरहेको वडाध्यक्ष राईले जानकारी दिए। रासस

प्रकाशित: ४ चैत २०८१ २१:३२ | Monday, March 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast