बाँकेका १२ सामुदायिक वनमा डढेलो

हिमाल प्रेस १३ वैशाख २०८३ १६:०८ | Sunday, April 26, 2026
10
SHARES
बाँकेका १२ सामुदायिक वनमा डढेलो फाइल तस्बिर।

नेपालगञ्ज- बाँकेका दुई चक्ला वनसहित विभिन्न सामुदायिक वनमा डढेलो सुरु भएको छ। वन डढेलोका कारण वन्यजन्तुको बासस्थान सङ्कटमा पर्न थालेको जिल्ला वन डिभिजन कार्यालयले जनाएको छ।

एक सातायतादेखि सुरु भएको वन डढेलोका कारण करिब चार हजार हेक्टर क्षेत्रफल प्रभावित भएको जिल्लास्थित डिभिजन वन कार्यालयका योजना अधिकृत सुशील सुवेदीले जानकारी दिए। उनका अनुसार शम्शेरगञ्ज माथेमा चक्ला वन, भुवरभवानी चक्ला वन, झिँझरी महिला सामुदायिक वन, राप्ती पीडित गुलरी सामुदायिक वनलगायत १२ वटा सामुदायिक वनमा डढेलो लागेको छ।

डढेलो निभाउने प्रयास जारी रहेको जनाउँदै उनले भित्रभित्र वनमा लागेको डढेलो नियन्त्रणमा आउन नसकेको सुवेदीले उल्लेख गरे। जनशक्ति र स्रोत कम हुँदा समयमा डढेलो नियन्त्रण हुन नसकेको भन्दै उनले सोही कारणले क्षति भइरहेको बताए। उनका अनुसार जिल्लामा वन डढेलो नियन्त्रणमा लागि १४ जनाको डढेलो नियन्त्रण दस्ता निर्माण गरिएको छ। अहिले रहेको २००० लिटर क्षमताको ट्याक्टरले राजमार्ग आसपासका क्षेत्रमा मात्रै वन डढेलो निभाउन सकिएको उनले जानकारी दिए।

डढेलो नियन्त्रणका लागि वनका भित्री भागसम्म जान सक्ने दमकल आवश्यक भएको उल्लेख गर्दै वन कार्यालयका योजना अधिकृत सुवेदीले बढ्दो खडेरीले भित्री क्षेत्रमा डढेलो झन बढेको उल्लेख गरे। ‘केही दिनभित्र पानी परेन भने वन डढेलो झनै बढ्ने खतरा छ,’ उनले भने।

जिल्लामा ५० हजार हेक्टर वन क्षेत्र रहेको वन कार्यालयका योजना अधिकृत सुवेदीले जानकारी दिए। वन डढेलो नियन्त्रण गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आइएको उल्लेख गर्दै उनले केही गलत व्यक्ति र आचरणका कारण वनमा डढेलो लागेको बताए।

यसैबीच सिक्टा नहरमा फसेको चित्तल मारेर खाएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूलाई वन कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको वन कार्यालयका योजना अधिकृत सुवेदीले जानकारी दिए। उनका अनुसार अनुसन्धान भइरहेकाले निजहरूको नाम, थर गोप्य राखिएको छ।

त्यस्तै स्थानीयले नहरमा फसेका चार वटा चित्तलको आज उद्धार गरेका छन्। बढ्दो खडेरीका कारण नहरमा पानी खान पुगेका चित्तल पानी खाँदाखाँदै नहरमा फसेका थिए। हरलाफाँटा सामुदायिक वनका उपभोक्ताले ती चित्तलको उद्धार गरी कार्यालयमा बुझाएका डिभिजन वन कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित: १३ वैशाख २०८३ १६:०८ | Sunday, April 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast