काठमाडौँ– यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजार ३८४ विदेशी पर्यटकले भ्रमण गरेका छन् ।
यस वर्ष घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अर्थात् असोज २५ देखि कात्तिक ८ गतेसम्म उक्त पदमार्गमा पाँच हजार ३८४ पर्यटक आएका हुन् । गत वर्ष सोही अवधिमा दुई हजार ७५७ पर्यटक आएका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङका अनुसार यस वर्ष गत वर्षका तुलनामा दुई हजार ६२७ पर्यटक बढी आएका छन् ।
उनका अनुसार यस वर्ष पर्यटक आगमन बढ्नुको प्रमुख कारणमध्ये मनास्लु क्षेत्रको पदमार्गमा बाढीपहिरोले पुर्याएको क्षति पनि एक हो । मनास्लु पदमार्गमा बाढीपहिरोका कारण आवागमन प्रभावित भएपछि त्यहाँ जाने केही पर्यटक अन्नपूर्ण पदमार्गतर्फ आएका उनले बताए । यस वर्ष मौसम अनुकूल रहनु र पछिल्लो समय मानिसमा घुमफिर गर्ने संस्कृति बढ्दै जानुले पनि पर्यटक आगमनमा वृद्धि भएको उनको भनाइ छ ।
केन्द्रको तथ्याङ्कअनुसार यस वर्ष अन्नपूर्ण पदमार्गमा आएका पर्यटकमध्ये तीन हजार २८८ पुरुष, दुई हजार ९४ महिला र अन्य दुई जना छन् । त्यस्तै, सार्क राष्ट्रबाट ६०९ र गैरसार्क राष्ट्रबाट चार हजार ७७५ पर्यटक आएका छन् । तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतबाट ६०६ पर्यटक आएका छन् । जर्मनीबाट ४३८, इजरायलबाट ४१८, फ्रान्सबाट ३६४ र संयुक्त राज्य अमेरिकाबाट ३५२ पर्यटक आएका छन् ।
लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण चक्रीय पदमार्ग मनाङ हुँदै थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङसम्म पुग्छ । हिमाली दृश्य, प्राकृतिक सौन्दर्य, परम्परागत बस्ती र स्थानीय संस्कृतिको अवलोकन गर्न पाइने भएकाले यो पदमार्ग विदेशी पर्यटकमाझ लोकप्रिय छ ।



