
पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको दुई वर्ष बितिसक्दा पनि यहाँबाट अझसम्म नियमितरुपमा अन्तर्राष्ट्रिय उडान सकेको छैन। आन्तरिकबाहेक ११ मात्र अन्तर्राष्ट्रिय चार्टर उडानमा सीमित हुँदा पोखराका पर्यटन व्यवसायी निराश छन्।
यसैक्रममा नियमित उडानमा दबाब दिन उनीहरु आफैँले चीन घुम्ने प्याकेज बनाएका छन्। एक साता लामो उक्त प्याकेजमा पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवद्र्धनात्मक विविध कार्यक्रम गरी चिनियाँ पर्यटकलाई पोखरा घुम्न निम्तो दिने छन्।
बुधबार पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारीले आगामी ५ चैतदेखि १२७ जना पर्यटन व्यवसायीहरु चीनको छेन्दु उड्ने जानकारी दिए।
उनले भने, ‘सुरुवाती चरणमा केही चार्टर उडानबाट सुरु गरेर यसलाई व्यावसायिक उडानमा परिणत गर्ने हाम्रो सोच छ।’
पोखरा–छेन्दु उडान प्रवद्र्धन तथा चिनियाँ सेल्स मिसन–२०२५ सफल बनाउन तथा पोखराबाट नियमित उडान गराउन सरोकारवालालाई यसले दबाब दिने उनको विश्वास छ।
५ चैत बिहान १० बजे १२७ जना चिनियाँ यात्रु लिएर छेन्दुबाट सिचुवान एयर पोखरा अवतरण हुनेछ। त्यसको दुई घण्टापछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समिति संयोजक गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारीसमेत १२७ पर्यटन व्यवसायी छेन्दु प्रस्थान गर्ने छन्।
एक साता लामो उक्त कार्यक्रममा विशेषगरी सिचुवान प्रदेशको छेन्दु, लुक्झोउ, इमि, लिसन, छोङछिङ केन्द्रित रही त्यहाँका पर्यटनका विकास, बिस्तारबारे जानकारी लिइने अध्यक्ष पहारीले बताए।
नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाली महाबाणिज्यदूतावास छेन्दुको सहकार्यमा छेन्दु र छोङछिङमा नेपाल इभिनिङ तथा सेल्स मिसन कार्यक्रमसमेत हुनेछ। पोखराका मेयरको नेतृत्वमा लुझोउ शहरमा केही विशिष्ट व्यक्तिसहित उनका समकक्षीसँग भेटवार्ता हुनेछ।
पत्रकार सम्मेलनमा मेयर आचार्यले यो उडानबाट नियमित रुपमा व्यावसायिक उडानमा दबाब दिनुका साथै पोखरा भ्रमण वर्ष–२०२५ को पनि प्रवद्र्धन हुने अपेक्षा गरे।
पोखरा पर्यटन परिषद्को नेतृत्वमा नेपालस्थित चिनियाँ राजदुतावास र सिचुवान एअरलाईन्सको सहकार्यमा हुन लागेको उडानमा सुरुआति दिनमा चाइना ट्राभल इन्टरनेश्नल छेन्दु र नेपालस्थित चाइनिज ओभरसिज एशोसियसनले पनि संयोजनकारी भूमिका खेल्ने छन्।
९ करोड जनसंख्या रहेको छेन्दुमा नेपालीहरु पनि गइदिने, यहाँको कल्चर त्यता देखाउने गरे पर्यटक आकर्षित गर्न सकिने पोखराका पर्यटन व्यवसायी बताउँछन्।
३ महिना अवधिमा करिब एक हजार २५० जना चिनियाँ पर्यटक सिचुवान प्रदेशबाट हवाई मार्गहुँदै सीधै पोखरा अवतरण गराउन उनीहरु लागिपरेका छन्।
राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले भव्य समारोहबीच उद्घाटन गरेका थिए।
त्यसयता, झण्डै २७ महिनासम्म आन्तरिबाहेक ११ अन्तर्राष्ट्रिय चार्टर उडान भएको विमानस्थल प्रवक्ता जसुदा सुवेदीले बताइन्।