इन्द्रसरोवरमा अभिभावक सचेतना कार्यक्रम, शिक्षाको गुणस्तर सुधारमा जोड

हिमाल प्रेस २७ फागुन २०८१ १२:५६
182
SHARES
इन्द्रसरोवरमा अभिभावक सचेतना कार्यक्रम, शिक्षाको गुणस्तर सुधारमा जोड

मकवानपुर- इन्द्रसरोवर गाउँपालिका-५ अन्तर्गतका तीनवटा विद्यालयका अभिभावकलाई लक्षित गरी अभिभावक सचेतना कार्यक्रम सम्पन्न भएको छ। सोमबार पाटीचौरस्थित बालमैत्री भवनमा पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा र सोही वडाको संयुक्त आयोजनामा सम्पन्न भएको हो। उक्त कार्यक्रम पालिकाको “जागरुक अभिभावक, शिक्षित सन्तान” नाराका साथ इन्द्रसरोवर गाउँपालिकाअन्तर्गतका विद्यालयका अभिभावक र शिक्षकहरूको लागि अभिभावक कार्यक्रमअन्तर्गत गरिएको हो।

बृहत् राष्ट्रिय शिक्षा अभियानका संयोजकसमेत रहेका अभिषेक घिमिरे उक्त कार्यक्रमका मुख्य प्रशिक्षकका रुपमा रहेका थिए। उनले ‘असल अभिभावक कसरी बन्ने?, सफल अभिभावक कसरी बन्ने?’ प्रश्नबाट कार्यक्रमको सुरुवात गरेका थिए। त्यसपछि उनले बालबालिकालाई घर तथा विद्यालयमा गरिने व्यवहार ती व्यवहारले बालबालिकामा पार्ने प्रभावलाई विभिन्न तस्बिर तथा भिडियोमार्फत प्रष्ट पारेका थिए।

‘बालबालिका निकै जिज्ञासु स्वभावका हुन्छन्। उनीहरू जे देख्छन्, त्यसको नक्कल गर्छन्,’ त्यसक्रममा उनले भनेका थिए, ‘बालबालिका अगाडि हामी जहिले पनि सकारात्मक र राम्रा व्यवहार प्रस्तुत गर्नुपर्छ।’ बालबालिकालाई मायाको नाममा धेरै माया र सुधार्नुपर्छ भनेर धेरै गाली गर्नु पनि उचित नरहेको बताए।

‘छोराछोरीलाई दुःख हुन्छ भनेर एउटा सिन्का पनि भाँच्न दिन्न र व्यवहारिक कुरा सिकाउनुपर्छ भनेर घरको काम मात्र गराइ राख्नु पनि हुँदैन। उनको लागि पढ्ने वातावरणको निर्माण गरिदिनुपर्छ,’ उनले भने, ‘छोराछोरीलाई पैसा होइन, समय दिन सक्यौं भने हामी उनीहरुसँग भावनात्मक रूपमा नजिक हुन्छौं। यसले छोराछोरीको अवस्था थाहा पाउन मदत पुग्छ।’

उनको प्रशिक्षणका क्रममा उपस्थित अभिभावकहरूले सबै यस्ता कुरा आफूहरूले पहिलोपटक थाहा पाउन लागेको र धेरै कुरा सिकेको समेत बताए।

सहभागीमध्ये एक अभिभावकले भने, ‘हामीले हाम्रो छोराछोरीलाई खाली पढ मात्र भन्दा रहेछौं तर उसले के चाहिरहेको छ भन्ने कुरा बुझ्न पछि पर्ने रहेछौं। यसबाट हामीले धेरै कुरा सिक्न मिल्यो।’ त्यसपछि प्रशिक्षक घिमिरेले मोबाइलको दुरुपयोगको बारेमा अभिभावकहरूलाई जानकारी गराउँदै यसबाट हुने फाइदा र बेफाइदाबारे स्पष्ट पारे।

इन्द्रसरोवर गाउँपालिकाअन्तर्गतका विभिन्न विद्यालयहरूमा विगत केही समयदेखि शिक्षा, स्वास्थ्य तथा बालमनोविज्ञानका क्षेत्र काम गरिरहेका सगुन नेपालका महन्तबाबु महर्जनले अभिभावक सचेतना कार्यक्रम भएकोमा खुसी व्यक्त गरे।

कार्यक्रममा उनले बालबालिका कोही छिटो सिक्न सक्ने र कोही ढिलो सिक्ने गरी दुई खालका हुने भएकाले ढिलो सिक्ने बालबालिकालाई अभिभावकले गाली नगर्न आग्रह गरे। उनले भने, ‘हामीले यस्ता बालबालिकालाई गाली होइन, हौसला प्रदान गर्नुपर्छ।’

कार्यक्रमका सभापति तथा पालिका उपाध्यक्ष उमाकुमारी लामाले विद्यालयको भौतिक संरचना मात्र नभएर बालबालिकाको समग्र व्यवहारिक, भावनात्मक, बौद्धिक विकासमा स्थानीय सरकार लागिपरेको बताइन्।

‘शिक्षाको गुणस्तर विद्यालयको भौतिक संरचना निर्माण गरेर मात्र नहुने भएकोले हामी बालबालिकाको समग्र विकासका लागि शिक्षक,अभिभावक र बालबालिका लक्षित कार्यक्रम गर्दै आएका छौं। आजको यो कार्यक्रम पनि यसैको उदाहरण हो,’ उनले अभिभावकहरूलाई आग्रह गर्दै भनिन्,‘यो अभियान सफल पार्नका लागि सबैको साथ र सहयोगको अपेक्षा गरेका छौं।’

त्यसैगरी, कार्यक्रममा अभिभावक पाठशालाका सञ्चालक सुवर्ण कर्मचार्यले बालबालिको समग्र विकासमा अभिभावकको भूमिका महत्वपूर्ण भएको अनुभव सुनाए।

‘बालबालिको समग्र विकासमा शिक्षकको भूमिका त हुन्छ नै तर त्यो भन्दा बढी अभिभावकको भूमिका बढी हुन्छ। किनभने उनीहरू १८ घण्टा घरमै अभिभावकसँगै बिताउँछन्,’ उनले भने, ‘त्यसैले शिक्षक, अभिभावक र विद्यार्थीबीचमा समन्वय गर्न सक्यौं भने शिक्षामा गुणस्तर ल्याउन कुनै समस्या छैन।’

त्यसैगरी, कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष दूतराज तितुङले पनि विभिन्न प्रयासबा बाबजुद पनि विद्यालयमा अपेक्षित नतिजा नआएपछि साह्रै चिन्तित भएको बताए।

‘यस वडामा भएका २ वटा मा.वि विद्यालयबाट एसईईमा अपेक्षित नतिजा नआएपछि हामी निकै चिन्तित भएका छौं। हामी कहाँ चुक्दै छौं भनेर बुझ्नका लागि अन्य उत्कृष्ट कहलिएका विद्यालयको अवलोकन भ्रमण पनि गर्यौं। ती विद्यालयमा अपनाइएका रणनीति अपनायौं तर पनि नतिजा हात पार्न सकेनौं,’ उनले भने, ‘लामो समय छलफल गर्दै जाँदा कतै हामी अभिभावककै कारण त होइन भन्ने निष्कर्षमा पुग्यौं। यसैफलस्वरुप आज यो कार्यक्रम गर्दैछौं। आशा यस कार्यक्रमपछि हामी सम्पूर्ण अभिभावक केही प्रयास गर्नेछौं। आफूमा भएको कमजोरी थाहा पाउनेछौं।’

दुई सयका हाराहारीमा शिक्षक तथा अभिभावकको उपस्थिति रहेको कार्यक्रममा अतिथिका रूपमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाको उपस्थिति थियो भने कार्यक्रमको सञ्चालन पालिकाका शिक्षा शाखा प्रमुख धर्मानन्द पन्तले गरेका थिए।

उक्त कार्यक्रम श्री कालीदेवी मावि, महाचुनी मावि र मञ्जुश्री जनआधारभूत विद्यालयका अभिभावक लक्षित थियो।

प्रकाशित: २७ फागुन २०८१ १२:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast