मन्त्रीको ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्तिले निजी क्षेत्र आक्रोशित, भने : दोषी देखाउने अभिव्यक्ति अनुचित

हिमाल प्रेस २५ भदौ २०८३ १३:२६ | Thursday, September 10, 2026
मन्त्रीको ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्तिले निजी क्षेत्र आक्रोशित, भने : दोषी देखाउने अभिव्यक्ति अनुचित

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले प्रतिनिधि सभाको समिति बैठकमा एलपी ग्यास उद्योगीहरूप्रति दिएको अभिव्यक्तिप्रति निजी क्षेत्र आक्रोशित बनेको छ।

उद्योग समितिको बुधबार बसेको बैठकमा मन्त्री यादवले ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूको ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्ति दिएकी थिइन्। उनको अभिव्यक्ति गैरजिम्मेवारी भएको भन्दै निजी क्षेत्रले आपत्ति जनाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले ग्यास उद्योगीलाई लक्षित गरि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले दिएको अभिव्यक्ति आपत्तिजनक र गैरजिम्मेवार भएको बताएको छ ।

महासंघले एक विज्ञप्ती जारी गरि सरकार र निजी क्षेत्रबीचको सम्बन्धमा असर पार्नेगरि उद्योगमन्त्री गौरीकुमारी यादवले आपत्तिजनक अभिव्यक्ति दिएको जनाएको हो ।महासंघले मन्त्री यादवको उक्त अभिव्यक्ति गैरजिम्मेवार भएको जनाएको छ । ग्यास आपूर्तिमा देखिएको समस्या समाधान गरी उपभोक्तालाई नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने संवेदनशील अवस्थामा सम्पूर्ण उद्योगी–व्यवसायीलाई दोषी देखाउने अभिव्यक्ति अनुचित भएको महासंघको भनाई छ ।

भोटेकोशीमा आएको बाढी र पृथ्वी राजमार्गमा गएको पहिरोका कारण ग्यास बुलेटको ढुवानी प्रभावित भएको महासंघले जनाएको छ । मन्त्रीको अभिव्यक्तिले विपद्का बेला सरकारसँग सहकार्य गर्दै राहत, उद्धार तथा अत्यावश्यक वस्तुको आपूर्तिमा जुटिरहेका निजी क्षेत्रको मनोबल कमजोर पार्ने महासंघको भनाइ छ ।

यता एलपी ग्यास उद्योग संघ नेपालले गम्भीर ध्यानाकर्षण गराउँदै आपत्ति जनाएको छ। भदौ २४ गते प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योगमन्त्रीले ग्यास उद्योगीहरूप्रति गैरजिम्मेवार र अमर्यादित अभिव्यक्ति दिएको भन्दै संघघले आपत्ति जनाएको हो। प्राकृतिक विपत्तिको समयमा ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरू अहोरात्र खटिरहेको अवस्थामा मन्त्रीजस्तो जिम्मेवार व्यक्तिबाट गैरलोकतन्त्रिक र खेदजनक अभिव्यक्ति आउनु आपत्तिजनक रहेको संघको भनाइ छ।

संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, आधा सिलिण्डर (७.१) केजी ग्यासको व्यवस्था १५ दिनका लागि भनिए पनि ४ महिनासम्म निरन्तरता दिइएको र २०८२ चैत १६ गते नेपाल आयल निगमलाई पत्र लेखी पुनः पूर्ण सिलिण्डरमा फर्कन अनुरोध गर्दा पनि ध्यान नदिइएको स्पष्ट पारिएको छ। पूर्ण सिलिण्डर लागू भएपछि सिलिन्डरको माग अचानक बढ्नु र पृथ्वी राजमार्गमा आएको अवरोधका कारण ग्यास बुलेट ढुवानी प्रभावित हुनु नै हालको असहजताको मुख्य कारण रहेको विज्ञप्तिमा उल्लेख छ।

संघले भनेको छ, ‘कुनै उद्योगबाट बदनियतपूर्वक कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भएमा कानुन बमोजिम कारबाही गर्न संघ सदैव सहयोग गर्न तयार छ, तर बिना प्रमाण दोषी देखाइनु गलत हो।’

कठिन परिस्थितिमा पनि ग्यास आपूर्ति सहज बनाउन सरकार र सरोकारवाला निकायहरूसँग सहकार्य गर्न तथा सरकारका व्यावहारिक निर्देशन पालना गर्न संघ प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: २५ भदौ २०८३ १३:२६ | Thursday, September 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast