काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका छन्। बेलायतका राजकुमार एडवार्डसँग मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको शिष्टाचार भेटमा पौडेलले सो धारणा व्यक्त गरेका हुन्।
‘जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ। जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई प्रमुखताका साथ आवाज उठाउँदै आएको छ’, राष्ट्रपति पौडेलको भनाइ उधृत गर्दै प्रेस सल्लाहकार किरण पोखरेलले भने।
यसै सन्दर्भमा नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको राष्ट्रपति पौडेलले जानकारी दिएका थिए। उक्त मञ्चको पहिलो संस्करण आगामी १६ देखि १८ मेसम्म काठमाडौँमा ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयमा आयोजना हुन लागेको पौडेलेको भनाइ थियो।
राष्ट्रपति पौडेलले बेलायतका राजपरिवारका सदस्यहरूबाट विभिन्न समयमा हुँदै आएका नेपाल भ्रमणले दुई देशबीच रही आएको सुमधुर सम्बन्धलाई अझ मजबुत पार्न योगदान दिएको बताए। साथै उनले महारानी एलिजाबेथ द्वितीया र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको स्मरण गरे।
‘नेपाल र बेलायतबीच सदीयौँदेखि घनिष्ट सम्बन्ध रहिआएको छ। महत्त्वपूर्ण विकास साझेदारसमेत रहेको बेलायतले नेपालको चौतर्फी विकासमा सहयोग पुर्याउँदै आएकोमा धन्यवाद व्यक्त गर्दछु’, राष्ट्रपति पौडेलले भने। सो अवसरमा उनले नेपाली नागरिक र आफ्नातर्फबाट राजा चार्ल्सको व्यक्तिगत सुख एवम् सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका थिए। नेपाल भ्रमणका लागि बेलायतका राजकुमार एडवार्ड पत्नी सोफियासहित मंगलबार काठमाडौँ आएका हुन्।
सो अवसरमा राजकुमार एडवार्डले नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणमा नेपालले गरेको प्रयासबारे भ्रमणका क्रममा जानकारी हुने विश्वास व्यक्त गरेका छन्। उनले भ्रमणका क्रममा प्रकृति कति जोखिम अवस्थामा छ र हिमालमा जलवायु परिवतर्नले कस्तो असर पारेको छ भनेर जान्न बुझ्न पाउने पनि बताए।
बेलायतको राजपरिवारका सदस्यबाट नेपाल आउने प्रयास भइरहेको र नेपाल आउँदा आफूलाई अत्यन्त खुसी लागेको बताउँदै राजकुमारले नेपाल बेलायतबीच भविष्यमा सहयोगको आदानप्रदान गर्दा युवा र महिला सशक्तीकरणको विषय सान्दर्भिक हुने बताए।
सोही अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बेलायती सेनाको ‘गोर्खा-ब्रिगेडका’ प्रमुख मेजर-जनरल जेराल्ड स्ट्रिकल्यान्डले ‘ब्रिगेड अफ गोर्खा’ को सन् २०२४ को वार्षिक प्रतिवेदन पेस गरेका थिए।