भाजपाले दिल्लीमा महिला मुख्यमन्त्री चयन गरेर दिएको सन्देश

हिमाल प्रेस ८ फागुन २०८१ १५:२२ | Thursday, February 20, 2025
भाजपाले दिल्लीमा महिला मुख्यमन्त्री चयन गरेर दिएको सन्देश नयाँदिल्लीमा बिहीबार आयोजित शपथ ग्रहण समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्दै नवनियुक्त मुख्यमन्त्री रेखा गुप्ता। तस्बिर : एपी/रासस

भारतको दिल्लीमा २७ वर्षपछि भारतीय जनता पार्टी (भाजपा) ले सरकारको नेतृत्व गरेको छ। चुनावमा अत्यधिक बहुमत प्राप्त गरेको ११ दिनपछि भाजपाले एक महिलालाई मुख्यमन्त्रीका रूपमा चुनेको हो। विधायकमा पहिलोपटक निर्वाचित रेखा गुप्ता मुख्यमन्त्री बनेकी हुन्। विधानसभामा पहिलो पटक निर्वाचित महिला विधायकलाई भाजपाले किन रोज्यो?

दिल्लीमा भाजपाले आम आदमी पार्टीलाई पराजित गरेपछि नयाँ मुख्यमन्त्रीका रूपमा धेरै दिग्गज नेताहरूको नाम चर्चामा थियो। तिनमा थिए, आमआदमी पार्टीका प्रमुख तथा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई पराजित गरेका प्रवेश बर्मा, दिल्लीका अनुभवी नेता विजेन्द्र गुप्ता, आशीष सुद, शिखा राय र दिल्ली भाजपा प्रमुख वीरेन्द्र सचदेवा। भाजपा विधायक दलको बुधबार साँझको बैठकले यी प्रभावशाली नेताहरूलाई मुख्यमन्त्री बनाउन छाडेर ५० वर्षीया रेखा गुप्तालाई चयन गरेको हो। उनी शालीमार बागबाट पहिलो पटक विधायक निर्वाचित भएकी हुन्।

राजनीतिशास्त्रका जानकारहरूको भनाइअनुसार भाजपाले महिला मुख्यमन्त्री चयन गरेर पार्टी र सरकारमा महिलाहरूको सहभागिता बढाउने सन्देश दिएको छ। भाजपा हाल १३ राज्यमा सत्तामा छ। अहिले कुनै पनि राज्यमा भाजपाका तर्फबाट महिला मुख्यमन्त्री छैनन्। यसअघि भाजपाका महिला मुख्यमन्त्री विभिन्न राज्यमा रहिसकेका छन्। यसपटक भाजपाले दिल्लीमा महिला मुख्यमन्त्री चयन गरेर एकैसाथ धेरै लक्ष्य हासिल गर्न खोजेको देखिन्छ।

वरिष्ठ पत्रकार मीनु जैन भन्छिन्, ‘दिल्लीमा महिलाको भाजपाप्रति ठूलो समर्थन देखियो। भाजपालाई लागेको हुनसक्छ रेखा गुप्ताभन्दा अघि आपकी आतिशी मुख्यमन्त्री थिइन्। त्यसअघि कांग्रेसकी शीला दीक्षित। त्यसैले महिलाले जब भाजपालाई भोट दिए, बदलामा दिल्लीलाई महिला मुख्यमन्त्री दिनु उचित ठानियो।’

जैनको बुझाइमा २०१४ देखि नै नरेन्द्र मोदी सत्तामा  रहे पनि पार्टीले कुनै महिलालाई मुख्यमन्त्री बनाएको थिएन। यसपटक भाजपा महिलालाई विशेष सन्देश दिन चाहेको उनले बताइन्। भाजपाले महिला आरक्षणको कुरा गरे पनि महिलालाई सुविधा नदिएको गुनासो उनको छ।

राजनीतिक विश्लेषक डा. मुकेश कुमारका अनुसार रेखा गुप्ताको मुख्यमन्त्री नियुक्ति आश्चर्यजनक होइन। उनी भन्छन्, ‘मध्यप्रदेशमा मोहन यादवको नाम कसैले कल्पना गरेको थिएन। उनको नाम कतै चर्चा पनि थिएन तर उनलाई मुख्यमन्त्री बनाइयो। राजस्थानमा  र उत्तराखण्डमा पनि उस्तै देखियो। हरियाणामा मनोहर लाल खट्टरको पालामा पनि त्यस्तै भयो।’

दिल्लीको सन्दर्भमा उनी भन्छन्, ‘यहाँ विभिन्न नाम चर्चामा थिए, जसमा रेखा गुप्ताको नाम पनि समावेश थियो। यसको एउटा प्रमुख कारण यो हुनसक्छ कि भाजपासँग अहिलेसम्म कुनै महिला मुख्यमन्त्री थिएन। साथै महिलाहरूले भाजपालाई ठूलो संख्यामा मत दिएका छन्। त्यसैले भाजपाका लागि महिला मुख्यमन्त्री बनाउनु आवश्यक देखियो।’

रेखा गुप्ता विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहिआएकी छन्। उनी १९९२ मा दिल्ली विश्वविद्यालयको दौलत राम कलेजमा अध्ययन गर्दै गर्दा नै विद्यार्थी राजनीतिमा प्रवेश गरेकी थिइन्। अखिल भारतीय विद्यार्थी परिषद् (एबीबीपी) सँग पनि उनको आबद्धता छ। साथै दिल्ली विश्वविद्यालय विद्यार्थी संघ (डूसू) अध्यक्ष भएर काम गरेको अनुभव पनि उनको छ।

गुप्ता राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) सँग पनि आबद्ध रहिआएकी छिन्। डा. मुकेश कुमार भन्छन्, ‘रेखा गुप्ता संघको निकट रहिआएकी छन्। हाल आरएसएसले पनि यस विषयमा विशेष जोड दिइरहेको थियो। रेखाको चयनमा आरएसएसको पनि महत्त्वपूर्ण भूमिका छ।’

यस पटकको दिल्ली चुनावमा सबै दलहरूले महिलालाई केन्द्रबिन्दु बनाए। भाजपा, कांग्रेस, र आम आदमी पार्टी (आप) ले आफ्ना घोषणापत्रहरूमा महिलाका लागि ठूल्ठूला प्रतिज्ञा गरेका छन्। डा. कुमार भन्छन्, ‘दिल्लीमा जसरी महिला मुख्यमन्त्री बनाइए, त्यो केवल दिल्लीका महिला मतदाताहरूलाई खुसी पार्नका लागि होइन, बरु यो राष्ट्रिय स्तरमा एक सन्देश दिनको लागि हो। किनभने भाजपा शासित राज्यहरूमा कुनै महिला मुख्यमन्त्री छैनन्। अब यो प्रश्न उठ्छ कि पार्टी महिलाहरूको भोट त लिन्छ, तर नेतृत्वमा कुनै स्थान दिन्न। भाजपाले यो प्रश्नको उत्तर दिएको छ।’

मीनु जैन र डा. मुकेश कुमारको बुझाइमा भाजपाले गुप्ता चयन गरेर वैश्य समुदायलाई आकर्षित गर्ने प्रयास पनि गरेको छ। जैन भन्छिन्, ‘यो सन्देश वैश्य समुदायलाई दिइएको हो। यो समुदाय सधैँ संघ र भाजपासँग रहिआएको छ। यसले पार्टीलाई आर्थिक सहयोग पनि पुर्‍याएको छ।’

डा. कुमार भन्छन्, ‘भाजपाले एकै तीरले धेरै सिकार गरेको छ। पहिलो, उनीहरूले महिला मतदातालाई आकर्षित गरेका छन्, दोस्रो, वैश्य समुदायलाई खुसी पार्ने प्रयास गरेका छन् र तेस्रो, रेखा गुप्ता हरियाणाकी छन् र हरियाणाका धेरै मतदाता दिल्लीमा बसोबास गर्छन्, जसको असर हरियाणामा पनि देखिन सक्छ।’

रेखा गुप्ता दिल्लीको चौथी महिला मुख्यमन्त्री बनेकी हुन्। सुषमा स्वराज १९९८ मा ५२ दिनका लागि दिल्लीकी मुख्यमन्त्री थिइन्। त्यसपछि भएको विधानसभा चुनावमा भाजपाले हारेको थियो। दिल्लीमा कांग्रेसले सत्ता प्राप्त गर्‍यो। कांग्रेस नेत्री शीला दीक्षित १५ वर्षसम्म मुख्यमन्त्री रहेकी थिइन्।

शीला दीक्षितपछि दिल्लीमा आम आदमी पार्टीको सरकार बन्यो। अरबिन्द केजरीवाल मुख्यमन्त्री भए। मुख्यमन्त्रीको रूपमा काम गर्दै गर्दा उनलाई जेल जानुपरेको थियो। जेलबाट फर्किएपछि केजरीवालले पदबाट राजीनामा दिए। त्यसपछि आतिशी दिल्लीकी तेस्री महिला मुख्यमन्त्री बनिन्। डीब्ल्यूबाट

प्रकाशित: ८ फागुन २०८१ १५:२२ | Thursday, February 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast