परराष्ट्रमन्त्री शिशिर खनाल।
काठमाडौँ- सरकारले तिब्बतबाट नेपालतर्फ आएको बाढीबाट प्रभावितको खोज तथा उद्धारका लागि रसुवा र नुवाकोटमा नेपाली सेना र निजी क्षेत्रका १३ वटा हेलिकप्टर परिचालन गरेको जनाएको छ।
बुधबार प्रतिनिधिसभा बैठकमा खोज तथा उद्धारका लागि भएका कामका बारे जानकारी गराउँदै परराष्ट्रमन्त्री शिशिर खनालले प्रभावकारी रुपमा खोज तथा उद्धारका लागि सरकार गम्भीर रहेको भन्दै नेपाली सेना र निजी क्षेत्रका १३ वटा हेलिकप्टर परिचालन गरेको जानकारी दिए।
रसुवा त्रिशुलीलगायत प्रहरी चौकीमा कार्यरत २६ जना प्रहरी र सशस्त्र प्रहरी तर्फका ९ जना र नेपाल सेनाका सहित ४४ जना सम्पर्कविहीन रहेको उनले बताए। साथै रसुवागढी भन्सार, अध्यागमन कार्यलगायत केही कर्मचारीहरू समेत हालसम्म सम्पर्कमा नरहेको उनले बताए।
उनका अनुसार उद्धार गरिएका घाइते नागरिकको उपचारको लागि नुवाकोटस्थित जिल्ला अस्पतालमा नेपाली सेनाका १५, नेपाल प्रहरीका १२ र सशस्त्र प्रहरी बलका १५ जना थप चिकित्सकसहितको स्वास्थ्य टोलि पठाइएको छ।
मन्त्री खनालले रसुवा र नुवाकोट जिल्लाको जिल्ला विपद् व्यवस्थापन कोषमा एक करोड र धादिङ जिल्लाका लागि ५० लाख रुपैयाँ थप निकासा भएको बताए।


