भारत, चीन र विश्व बैंकले सोधे- कस्तो सहयोग कहाँ पठाऊँ?

हिमाल प्रेस १० भदौ २०८३ १८:०६ | Wednesday, August 26, 2026
भारत, चीन र विश्व बैंकले सोधे- कस्तो सहयोग कहाँ पठाऊँ?

काठमाडौँ- बाढीपहिरोबाट प्रभावित नेपालका नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले तत्काल सहयोगको प्रतिबद्धता जनाउँदै सरकारसँग समन्वय थालेका छन्।

विपद्को खबर बाहिरिएलगत्तै बुधबार बिहान १०ः३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले सम्पर्क गरी विभिन्न स्रोतबाट आपत्कालीन सहयोगस्वरूप करिब रु. २५ अर्ब उपलब्ध गराउन सकिने जानकारी दिएको वाग्लेको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार दक्षिणी छिमेकी भारतले बाढीपीडितका लागि तत्काल आवश्यक राहत सामग्रीको सूची उपलब्ध गराउन नेपाल सरकारसँग आग्रह गरेको छ। प्रधानमन्त्री, अर्थमन्त्रीलगायत वरिष्ठ मन्त्रीहरूसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री बुधबार नै काठमाडौँ ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्।

उत्तरी छिमेकी चीनले पनि विपद् प्रभावितका लागि तत्काल नगद सहयोग उपलब्ध गराउने भएको छ। सहयोग रकम पठाउने प्रक्रिया अघि बढाउन चिनियाँ राजदूत जाङ माओमिङले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन्।

छिमेकी मुलुक तथा दातृ निकायबाट प्राप्त सहयोगको प्रतिबद्धताप्रति सरकारले आभार व्यक्त गरेको छ। अर्थमन्त्री वाग्लेले अन्तरसरकारी समन्वयमार्फत सहयोगको उपयुक्त मोडालिटीबारे छलफल भइरहेको बताएका छन्।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेपछि प्रभावित क्षेत्रमा घरेलु तथा बाह्य स्रोतबाट राहत र पुनर्निर्माणका लागि सहयोग जुटाउने बाटो खुलेको हो।

सरकारले तत्काल उद्धार तथा राहतलाई प्राथमिकता दिँदै मित्रराष्ट्र र विकास साझेदारबाट प्राप्त सहयोगलाई आवश्यकता र प्रभावित क्षेत्रका आधारमा परिचालन गर्ने तयारी गरेको छ।

प्रकाशित: १० भदौ २०८३ १८:०६ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast