परराष्ट्रमन्त्री शिशिर खनाल
काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनाल जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा चीनका विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा असार ३० गतेदेखि साउन २ गते (१४–१७ जुन २०२६) सम्म चीन भ्रमणमा जान लागेका हुन्।
भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने तथा द्विपक्षीय सम्बन्धका विविध पक्षबारे छलफल हुने बताइएको छ।
मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय पदाधिकारीहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन्।
बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा पनि मन्त्री खनाल सहभागी हुने कार्यक्रम छ। सम्मेलनमार्फत नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने उद्देश्य राखिएको छ। सो अवसरमा मन्त्री खनालले चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्नेछन्।
भ्रमणका क्रममा बेइजिङस्थित नेपाली दूतावासले उहाँको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि मन्त्री खनाल सहभागी हुनेछन्। साथै, उनले चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल साउन २ गते (१७ जुन) काठमाडौं फर्किनेछन्।




