काठमाडौँ- नेकपा एमालेले उद्धार तथा मानवीय सहायताको अग्रपंक्तिमा खटिन पार्टी पंक्तिलाई निर्देशन दिएको छ।
बुधबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालयको आकस्मिक बैठकले सम्पूर्ण नेता, कार्यकर्ता, जनसंगठनका सदस्य तथा जनप्रतिनिधिहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा मानवीय सहायताको अग्रपंक्तिमा खटिन विशेष निर्देशन जारी गरेको हो।
तीनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज र आम नागरिक एकजुट भएर पीडितको उद्धार तथा राहतमा जुट्न आह्वान गरिएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
बैठकले विपद्मा परेका नागरिकहरूको जीवनरक्षा राज्यको पहिलो दायित्व भएकाले बेपत्ताको खोजी, जोखिममा रहेकाहरूको तत्काल स्थानान्तरण र पुनस्र्थापना गर्न माग गरेको छ भने विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्र, साधनस्रोत र विकल्प परिचालन गरी तत्कालीन तथा दीर्घकालीन राहत प्याकेज तुरुन्त घोषणा गर्न माग गरेको आचार्यले बताए।
सरकारले कुनै पनि बहानामा ढिलासुस्ती नगरी उद्धार र राहत कार्यमा पूर्ण तदारुकता देखाउनुपर्ने उनले बताए।


