काठमाडाैँ- सर्वाधिक हिट र रेकर्ड ब्रेक फिल्म ‘पूर्ण बाहादुरको सारङ्गी २’ बन्ने घोषणा भएसँगै निर्देशक सरोज पौडेलले आफनो कथालाई तन्काएर कमाइ खाने भाडो नबनाउन आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत दर्शकसँगै आफूले दोस्रो सिक्वेल बन्ने जानकारी पाएको खुलाएका छन्। साथै यसअघि नै उनले यसको दोस्रो भागमा काम गर्न अस्विकार गरेको समेत खुलाएका छन्।
‘मैले यो फिल्म दोस्रो भागमा काम गर्दैन भनिसकेको छु। सकेसम्म २,३,४,६ बनाउन तिर नलागेर आफ्ना कथाहरु फरक शैलीमा भन्नु पर्दछ, भन्ने मेरो मान्यतालाई नै निरन्तरता दिँदै छु। ‘कोशेढुङ्गा’ मार्फत मैले मेरो कथाहरु भन्दै छु। मलाई बिना जानकारी मैले सिर्जना गरेका पात्र र मेरो कथालाई तन्काएर व्यापार गर्ने माध्यम नबनोस् पूर्ण बहादुरको सारङ्गी २, मैले काम नगरे पनि आवश्यक प्रक्रिया पूरा गरेर अगाडि बढाउनु होला। सारङ्गी १ ले स्थापित गरेको गरिमा जोगाउनु होला।’ उनले लेखेका छन्, ‘पूर्ण बहादुरको सारङ्गी २’ घोषणा भएपछि मैले पनि तपाईहरुसँगै जानकारी पाएको छु। पूर्ण बहादुरको सारङ्गी विशुद्ध मेरो स्टोरी आइडिया र निर्देशनमा बनेको फिल्म थियो। जसलाई दर्शकहरुले अपार माया साथ दिएर ऐतिहासिक बनाइदिनु भएको छ। इतिहास घरीघरी कोर्न सम्भव हुँदैन। त्यही कारण मैले पूर्ण बहादुरको सारङ्गीले कोरेको इतिहासलाई इतिहास नै बनाइ सम्मान पुर्वक राखौँ, यसलाई कमाइ खाने भाडो बनाउन खोज्दा आफ्नै हातले बनाएको इतिहास आफ्नै कारण भत्किन सक्छ।’