नागार्जुन नगरपालिकाका मेयर बस्नेतमाथि भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दा

हिमाल प्रेस १४ पुष २०८१ १८:२०
80
SHARES
नागार्जुन नगरपालिकाका मेयर बस्नेतमाथि भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौँ- काठमाडौँको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतमाथि भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसनन आयोगले आइतबार विशेष अदालत काठमाडौँमा बस्नेतमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो।

बस्नेतमाथि पद्मा मर्चेन्ट कम्पनी प्रालि र यसका सञ्चालक/अध्यक्ष राजुप्रसाद कँडेलबाट गैरकानुनी रूपमा जग्गा तथा रकम प्राप्त गरी उक्त जग्गा बिक्री गरी सम्पत्ति शुद्धीकरण गरेको आरोप लागेको छ।

नगरपालिकामै कार्यक्षेत्र रहेको घर/जग्गा व्यवसायी पद्मा कलोनी प्रालि/पद्मा मर्चेन्ट कम्पनी प्रालि÷जगतगुरु कृपालु प्रतिष्ठानका सञ्चालक राजुप्रसाद कँडेलबाट घुस लिने मनसायले जगतगुरु कृपालु प्रतिष्ठानलाई व्यक्ति तथा संघसंस्थाबाट विदेशी सहायता रु.७ अर्ब ४८ करोड प्राप्त गर्न सहमति दिन लगाएको, प्रमुख प्रशासकीय अधिकृतबाट हुने पत्राचारसमेत आफ्नै दस्तखतबाट गरी प्रतिष्ठानको ख्यातीमा वृद्धि गरी कँडेल तथा निजका कम्पनीलाई जग्गा उपलब्ध गराएको आरोप प्रमुख बस्नेतमाथि लगाइएको छ।

त्यस्तै उनले तीन करोड ७२ हजार रकम जग्गाधनीहरूलाई भुक्तानी दिई कृपालु प्रतिष्ठानल निर्माण गर्ने मन्दिरका लागि जग्गा लिने भनी बैनाबट्टा गराएको अभियोगपत्रमा उल्लेख छ।

४७ करोड ७५ लाख बजार मूल्य रहेको जग्गाका लागि पद्मा कलोनी प्रालिले जग्गाधनीहरूलाई १८ करोड ९४ हजार ४४८ रूपैयाँ भुक्तानी दिएको, राजस्व र बैनाबट्टा रकमसमेत गरी जम्मा २३ करोड २२ लाख २७ हजार भुक्तानी गरी उक्त जग्गाहरू बजार मूल्यभन्दा करिब २४ करोड ५२ लाख ७३ हजार कम मूल्यमा प्रतिवादी कँडेल तथा निजको कम्पनीले प्राप्त गरेको अख्तियारको भनाइ छ।

मेयर बस्नेतले श्रीमती उर्मिला बस्नेतसँगको मिलेमतो तथा योजनामा बैंक खातामार्फत २ करोड १५ लाख ७३ हजार ३ सय ९५ र ६ करोड ८२ लाख मूल्य बराबरको जग्गाका लागि कँडेललाई शंकर होटलमा भुक्तानी गर्न लगाएको अख्तियारको ठहर छ।

त्यस्तै वैवाहिक भोग गर्दाको खर्च रू. २४ लाख ७२ हजार ६३३ सहित प्रमुख बस्नेत र उनकी श्रीमती उर्मिलाले पद्मा कलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

घुसबाट आर्जन गरेको रकम लुकाउने उद्देश्यका साथ उनीहरूले उर्मिलाको नाममा रहेको जग्गामा घर निर्माण, विभिन्न व्यक्तिलाई भुक्तानी गरी सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने काम गरेकाले रू.१३ करोड १२ लाख ७३ हजार ३२ रूपैयाँ ३३ पैसा सम्पत्ति शुद्धीकरण गरेको देखिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

अख्तियारले भ्रष्टाचारको कसुरमा मेयर बस्नेत, उनकी श्रीमती उर्मिला र पद्मा कलोनी प्रालिका सञ्चालक कँडेलमाथि जनही ९ करोड २२ लाख ४६ हजार ३२ रूपैयाँ ३३ पैसा बिगो कायम गरेर मुद्दा दायर गरेको छ।

त्यस्तै सम्पत्ति शुद्धीकरणको कसुरमा मेयर बस्नेत, उर्मिला र कँडेलमाथि अख्तियारले १२ करोड १२ लाख ७३ हजार ३२ रूपैयाँ ३३ पैसाको बिगो कायम गरी मुद्दा दायर गरेको छ।

प्रकाशित: १४ पुष २०८१ १८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast